मनमोहक धौलागिरी आइसफल पर्यटकको रोजाईमा

  • २ आश्विन २०८१, बुधबार
  • कमल खत्री
  • 101 पटक पढिएको

म्याग्दी २ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी– जोमसोम सडकखण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरी हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफल संगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा हिमालको काखमा पुग्न सकिने भएकाले धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको पहिलो पटक यस क्षेत्रमा पुग्नुभएका म्याग्दीका युवा पथ प्रदर्शक सुरेन गुरुङले बताउनुभयो ।
‘‘ छोटो पैदलयात्रामा हिमालको फेदमा आउन सकिदो रहेछ, वरिपरी हिमालको लस्करले मनै लोभ्याउँदो रहेछ, हिमालको टुप्पोबाट नीरन्तर खसीरहने आइसफलको दृष्य कसैले पनि छुटाउन नपर्ने नभएकाले यो ठाउँ पर्यटकको लागि आकर्षण बन्न सक्छ’’– गुरुङले भन्नुभयो । उहाँका अनुसार, पदमार्ग र आइसफल क्षेत्रमा प्रत्येक्ष रुपमा हिमाली र जंगली पशुपंक्षिलाई समेत अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको छ ।
समुद्री सतहदेखि ४ हजार १५० मिटर उचाईमा रहेको धौलागिरी र मानापाथि हिमालको आइसफल क्षेत्रबाट नीलगिरी र अन्नपूर्णलगायतका हिमशृङ्खलाका १० ओटा बढी हिमचुचुराहरुको समेत नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ । थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरी र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ ।
असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताउनुभयो । पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकहरुले चौरीगोठका चौरीलाई समेत रमाईलो मानेर अवलोकन गर्ने गरेको उहाँको भनाई छ । थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरी आइसफल क्षेत्रमा जाने पर्यटकहरुले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् ।
पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटकहरु टाङछारा क्षेत्रमा रहेका होटलहरुमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने समेत गर्छन् । बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरी आइसफल मुस्ताङमा आउने पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायि राजु गौचनले बताउनुभयो । उहाँले मुस्ताङ भ्रमणमा आउने पर्यटकहरु अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेको बताउँदै जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको बताउनुभयो । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको छ ।
यस पदमार्गमा पर्यटकहरुको सुविधाको लागि पदमार्ग संगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल बनाईएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोल समेत राखिएका छन् । आइसफल क्षेत्रबाट मुस्ताङका दर्जनौँ बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजहरुको दृष्य समेत आकर्षक देखिन्छ ।      

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l