बेनीको कालीपुलमा बाढी पस्यो, ६ वटा पसलमा क्षति

  • १२ असार २०८१, मंगलवार
  • 8766 पटक पढिएको

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पुर्‍याएको जानकारी दिए। ३५/३५ लाख लाख रुपैयाँ मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र चाँदनी अटो मोबाइल्स भित्र बाढी पसेको सञ्चालकले बताएका छन्। 

यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजेश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताए। ४ वटा पसलमा ३० लाख रुपैयाँ मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ।

शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताए। बाढीका कारण म्याग्दी भित्रने र बाहिरिने प्रमुख कालीपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवतजावत गर्न समस्या भएको थियो।

बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीहरूले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन्। बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताए।