म्याग्दी नदिको कटानले अर्मनको हाँडिभिर जोखिममा

  • २६ श्रावण २०७४, बिहीबार
  • 3894 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिर म्याग्दी नदीको कटानबाट जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदीमा आएको बाढीको कारण हाँडेभिर क्षेत्रको जग्गा र बस्ती नदी कटानको जोखिममा परेको हो । 

नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेको स्थानीय युवा श्यामसुन्दर कँडेलले बताउनुभयो । गयराती म्याग्दी नदीमा बढेको पानीको बहाबले कटान गर्दा एउटा पुरानो घर समेत बगाएको उहाँले बताउनुभयो ।


बिगतका बर्षहरुमा पनि उक्त क्षेत्रको सयौं रोपनी जग्गा कटान भएर बगरमा परिणत हुँदा समेत जोखिम रोकथामको लागि कुनै पनि पहल नभएको कँडेलले गुनासो गर्नुभयो । नदी कटानले पोक– छिस्बाङ मोटरबाटो समेत बगाएको छ ।

त्यस्दै पैदल यात्रीहरुलाई समेत जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ। उक्त क्षेत्रमा नदी कटान रोकथामको लागि समयमानै सम्बन्धित निकायको ध्यान नजानेहो भने सयौँ रोपनी कृषियोग्य जमिन बगरमा परिणत हुने र बस्ती समेत जोखिममा पर्ने खतरा रहेको छ ।