धवलागिरि हिमालको आधार शिविरमा आरोही आउन थाले

  • ९ आश्विन २०८०, मंगलवार
  • 533 पटक पढिएको

 

म्याग्दी, ९ असोज। म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् ।

शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धौलागिरि आधार शिविर पुगेका उनीहरुको सामान पुर्‍याएर फर्किएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “आरोहीहरु हेलिकप्टरबाट गएका थिए,” उहाँले भन्नुभयो, “हामीले मुस्ताङको मार्फाबाट एक सय पाँचवटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पुर्‍याएर फर्कियौँ ।” इलाइट र सेभेन समिट टे«कबाट पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनले बताउनुभयो।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच/पाँच पुरुष र महिला आरोहीले रु ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ । विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनीहरुबाट रु तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शुल्क सङ्कलन भएको छ ।

गत याममा चारवटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले रु एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ । file photo