प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

  • ६ आश्विन २०८०, शनिबार
  • कमल खत्री
  • 620 पटक पढिएको

कमल खत्री
बेनी, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रममा निस्किएपछि कोरला नाका सूचारु गराउने बिषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मुर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । 

नेपालसंग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पुर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमा नाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसंगै भवनहरु पनि बनाइसकेको छ । नाका सम्म नै सडक कालोपत्रे गरिसकेको चिनीयाँ पक्षले बन्दरगहा, सुरक्षा पोष्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ ।

कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी संगसंगै सुरक्षा संवेदनशीलताको ग्यारेन्टी चाहेको मुस्ताङको प्रदेश सभा १ का प्रदेश सभा सदस्य नाम्डु गुरुङले बताउनुभयो । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा सम्झौता हुन सक्ने आशा पलाएको उहाँले बताउनुभयो ।

‘‘यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्वपूर्ण छ, नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर सुरु हुन्छ, समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ, हामीले प्रदेश सरकार र प्रदेश सभामा यो बिषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ, संघीय सरकारलाई समेत यो बिषय जानकारीमै छ’’–प्रदेश सभा सदस्य गुरुङले भन्नुभयो ।

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपाल तर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो ।

यसै नाकालाई लक्षित गरेर निर्माणधिन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरि निर्माणधिन कालीगण्डकी कोरिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । घाँसादेखि जोमसोम हुँदै कोरला सम्मको सडक कालोपत्रे र ग्राभेल सहित स्तरोन्नतीको काम अन्तीम चरणमा पुगेपनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित बनेको छ ।

दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धबार्षिकरुपमा लाग्दै आएको व्यापार मेला समेत चार बर्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । यो बर्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चीनिया पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो बिषय समावेश हुने खवरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङबासी विश्वस्त रहेको उहाँको भनाई छ ।

कोरला नाका परिसरमा एकिकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिकरणको काम सम्पन्न भएको छ भने हालै माटो परिक्षण समेत गरिएको छ । बाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरको लागि बजेट विनियोजन भएपछि माटो परिक्षण गरिएको हो ।

माटो परिक्षणको लागि आएको टोलीले गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परिक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सिमा प्रहरी चौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटर यता नेचुङ्गमा सशस्त्र प्रहरी बलको विओपी पोष्ट स्थापना भैसकेको छ । रासस

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l