लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सम्वन्धी अन्तरसम्वाद

  • १६ बैशाख २०८०, शनिबार
  • धिरन खत्री
  • 437 पटक पढिएको

म्याग्दी, १६ बैशाख । म्याग्दीको दुर्गम गाउँ धवलागिरि गाउँपालिका– २ लुलाङमा ज्येष्ठ नागरिको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न अन्तरसम्वाद कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र रुईसे मिडिया प्रा.लि. को आयोजनामा शुक्रबार भएको ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रममा ज्येष्ठ नागरिकले आफ्ना जीवन्त रहेका ज्ञान, सिप र अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकले गाउँमा पहिल्य शिक्षा, स्वास्थ्य सडक खानेपानीका अभाव विच जीवन विताएपनि शिक्षा र स्वास्थ्यको पहुँच, सडक सुविधा लगायतको विकास र्निर्माणका पूर्वाधारले अहिल्य दुर्गम गाउँको जनजीवन सहज बन्दै गएको अनुभव सुनाउनुभयो ।
ज्येष्ठ नागरिकले परम्परागत घुम्ती गोठ राखेर पशुपालन गर्नुपर्ने पेशा, ऊन र भुवाबाट कपडा बुन्ने पेशा, आरन लगायतका परम्परागत पेशाहरु आधुनिकिकरण र ब्यवस्थित नगर्दा नयाँ पुस्तामा हस्तान्तरण गर्न समस्या भएको बताउनुभयो ।


अन्तरसम्वाद कार्यक्रममा जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले ज्येष्ठ नागरिक अनुभवले निखारिएको हुने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सिप नयाँपुस्ताको लागि सम्पति र सस्कृतिको रुपमा अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत ज्ञान, सिप र क्षमतालाई नयाँ प्रविधि जोड्न सकेमा रोजगार सिर्जना मौलिकताको संरक्षण हुने उहाँको भनाई थियो ।


सामाजिक कार्यालयका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तामा हस्तान्तरण गर्न र नयाँ पुस्तालाई जानकारी गराउन अन्तरसम्वाद कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले कार्यालयले ज्येष्ठ नागरिकको अनुभवबारे अन्तरसम्वाद, बृतचित्र निर्माण, स्वास्थ्य परिक्षण, सामाग्री सहयोग र लेख रचना लगायतको कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । वडा अध्यक्ष अकप्रसाद विकको अध्यक्षता, सामाजिक विकास कार्यालयका प्रमुख थापा मगरको स्वागत मन्तव्य रहेको अन्तरसम्वाद कार्यक्रममा जिल्ला अदालतको स्रेस्तेदार तेजप्रासद पौडेल, धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव रिजाल लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार कमल खत्री, शिव आचार्य र सुरेन गुरुङले गर्नुभएको थियो ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l