एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीहरुले राजीनामा दिँदै
- १५ फाल्गुन २०७९, सोमबार
- 687 पटक पढिएको
काठमाडौँ १५ फागुन। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काँग्रेस सहितको नयाँ गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन जनाएपछि एमालले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार जान लागेका हुन् ।
‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ’कृषिमन्त्री ज्वाला साहले भन्नुभयो, ‘हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।