बाढी, पहिरो र नदी कटानबाट सतर्क रहनुस : प्रशासन
- २८ असार २०७४, बुधबार
- 2305 पटक पढिएको
म्याग्दी,२९ असार । मनसुनको समय सुरु भएपछि सम्भावित बाढी पहिरोको जोखिममा रहेका बासिन्दाहरुलाई सतर्क भएर बस्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ । नदीको तटिय क्षेत्र, खोलानालाको छेउछाउ र भिरपहराको नजीक रहेका बस्तीहरुमा जुनसुकै समयमा पनि बर्षाको कारण बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति निम्तन सक्ने भएकाले सर्वसाधारणलाई सचेत भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।
प्रजिअ पौडेलले अव्यवस्थित रुपमा खनिएका ग्रामिण सडकको कारण बाढी, पहिरो जाने क्रम बढ्ने देखिएको कारण सम्भावित जोखिम न्युनिकरण र भैपरि आउने प्राकृतिक विपत्तिमा राहत र उद्धारको लागि आबश्यक तयारी गरिएको बताउनुभयो । अहिले बाढी पहिरोले बेनी–दरबाङ र बेनी–जोमसोम सडकखण्डमा सडक अबरुद्ध हुने गरेको छ ।
अबरुद्ध भएको ठाउँमा जतिसक्दो छिटो सवारी सुचारु गराउन त्यस क्षेत्रमा रहेका निर्माण व्यवसायि, आयोजना, सडक विभाग तथा जिल्ला समन्वय समितिसंग समेत सहकार्य र समन्वय गरि डोजर परिचालन गरि बाटो खोल्ने कार्य गरिरहेको प्रजिअ पौडेलको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला पकोप व्यवस्थापन समिति, जिल्ला भूसंरक्षण कार्यालय, नेपाल रेडक्रस सोसाईटी र जिल्ला प्रहरी कार्यालयलाई सम्भावित बाढी पहिरोको कारण हुनसक्ने घटनाहरुको पूर्वसुचना लिने, राहत र उद्धारमा जुट्न समेत आग्रह गरिसकेको छ ।
त्यस्तै नगरपालिका र गाउँपालिका कार्यालयहरुलाई समेत जुनसुकै ठाउँमा हुने बाढी पहिरोको घटनाको बारेमा तत्काल उद्धारको लागि सुचना प्रवाह गर्ने र तत्काल राहत तथा उद्धार कार्यमा जुट्न प्रशासनले आग्रह गरेको छ । जिल्लामा बिगतका बर्षहरुमा बर्षातको समयमा हुने क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले तत्काल राहत दिने प्रयोजनको लागि मन्त्रालयमा रु ५ लाख मौजाद राहत रकम माग समेत गरेको छ ।