बागलुङका सबै पालिकाले ल्याए बजेट

  • ११ असार २०७९, शनिबार
  • 611 पटक पढिएको

बागलुङ ११ असार । यहाँका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।

कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ । सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ । उपप्रमुख राजु खड्काले रु। एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गर्नुभएको हो । बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ। गत आवमा रु। एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरिएको थियो ।

आगामी आवमा चालुतर्फ रु। ८४ करोड ५२ लाख, पूँजीगततर्फ रु४५ करोड ३७ लाख र वित्तिय व्यस्थातर्फ रु। एक करोड २२ लाख विनियोजन गरिएको छ । उद्यमशीलता प्रवद्र्धन र श्रम बैंक स्थापनाका लागि रु। ४१ लाख बजेट छुट्टाइएको छ । कृषिलाई रु। ५२ लाख २५ हजार र पशुपालनमा रु। २१ लाख ५० हजार विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ रु। १६ करोड ३८ लाख बजेट छुट्टाइएको छ । बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ । शिक्षा क्षेत्रका लागि रु। दुई करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु। दुई करोड ११ लाख ६८ हजार बजेट छ ।

यस्तै गलकोट नगरपालिकाले रु। ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जस्मा रु। दुई करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ ।पूर्वाधार विकासमा रु। सात करोड ६६ लाख, आर्थिक विकासतर्फ रु। दुई करोड ४९ लाख, सामाजिक विकासमा रु। चार करोड ८२ लाख ३९ हजार बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिनुभयो । गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।

काठेखोला गाउँपालिकाले रु। ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम शुक्रबार गाउँसभामा प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाले सामाजिक विकासतर्फ रु। दुई करोड २६ लाख ५० हजार, आर्थिक विकासमा रु। एक करोड ६८ लाख र पूर्वाधारतर्फ रु। ५७ लाख बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपालनका लागि रु। ७२ लाख छुट्याइएको छ भने शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले उल्लेख गर्नुभयो ।

बरेङ गाउँपालिकाको बजेट रु। ४० करोड ३३ लाख ५६ हजारको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपालनमा बढी जोड दिएको देखिन्छ । ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि रु। ६३ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ भने पशुपालनतर्फ रु। ६९ लाख बजेट छ । अभिभावकविहीन बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउन अलग्गै कोषसमेत स्थपाना गरिएको गाउँपालिकाले जनाएको छ ।

ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजारको बजेट ल्याएको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपंक्षीको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाका अनुसार कृषि विकासतर्फ रु। एक करोड ५६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।यस्तै पशुपंक्षीमा रु। एक करोड १९ लाख ६० हजार बजेट छुट्टाइएको छ । दुग्ध सङ्कलन केन्द्र स्थापना, दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, विविधिकरण र बजारीकरणका लागि रु। ८० लाख बजेट छुट्याइएको छ । व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्न आर्थिक सहायताका साथै कृषि बीमामा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

बाँझो जग्गालाई भाडामा लिई खेती गर्ने किसानलाई प्रतिरोपनी वार्षिक रु। दुई हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने भएको छ । कृषि औजार, उपकरण र प्रविधि हस्तान्तराणमा पनि ताराखोलाले जोड दिएको छ । कृषि उपजको सङ्कलन केन्द्र स्थापना र बजारीकरणका लागि रु। ९० लाख बजेट विनियोजन गरिएको छ ।ताराखोलाले सामाजिक विकासमा रु। दुई करोड ३६ लाख ३२ हजार, पूर्वाधारतर्फ रु। पाँच करोड १२ लाख २० हजार र आर्थिक विकासतर्फ रु। तीन करोड ९२ लाख ५० हजार बजेट विनीयोजन गरेको छ ।

तमानखोला गाउँपालिकाले रु। ३१ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा केन्द्रित छ । ढोरपाटन नगरपालिकाले रु। ५१ करोड ४० लाख र जैमिनी नगरपालिकाले रु। ७० करोड ७३ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । निसीखोला गाउँपालिकाले रु। ४९ करोड ५२ को बजेट ल्याएको छ । उक्त गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवाको सुधारका साथै पूर्वाधार, कृषि र पर्यटनमा पनि प्राथमिकता दिइएको छ ।

बडिगाड गाउँपालिकाले रु। ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु। ४४ करोड ४८ लाख र पुँजीगततर्फ रु। २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले खरका छाना हटाउन रु। एक करोड बजेट छुट्टाएको छ । खानेपानी आयोजनाका लागि रु। दुई करोड ८५ लाख ५७ हजार छुट्याएको छ । सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन् । कानुनद्वारा तोकिएको सयमसीमाभित्र नीति, कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले गाउँ÷नगरसभामा आवश्यक छलफलपछि असार २५ भित्र बजेट पारित गर्ने भएका छन्
––––