गण्डकीमा जिसस गठनमा एमालेको वर्चश्व

  • ४ असार २०७९, शनिबार
  • 647 पटक पढिएको

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा जिसस गठन भएको छ । जसमा एमालेले ६ प्रमुख र ५ उपप्रमुख जितेको छ । यस्तै काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ । माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्दा राष्ट्रिय जनमोर्चाले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख एक जितेको छ ।

कास्कीमा एमालेको एकल जिसस बनेको छ । प्रमुखमा लीलाधर पौडेल र उपप्रमुख सरिता मालसहितको पुरै टिम एमालेको छ । जिसस लमजुङमा एमालेको प्यानल विजयी भएको छ । प्रमुखमा पूर्णबहादुर गुरुङ र उपप्रमुखमा बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

जिसस मुस्ताङ एमालेले प्रमुख र उपप्रमुख जितेको छ । एमालेकी माया गुरुङ प्रमुख र आईतेलाल थकाली उपप्रमुख बनेका छन् । म्याग्दी जिससमा एमालेको एकल नेतृत्व छ । एमालेबाट प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्री मनोनयन दर्ता भएको छ ।
पर्वत जिससको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएको छ । प्रमुख पदमा एमालेका बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी विजयी भएका छन् ।

एमाले र गठबन्धनकाबीचमा समान ७ मत रहेपछि सहमतिमा जिसस गठन गरिएको थियो । जिसस सदस्यमा एमाले, काँग्रेस र माओवादीबीच भागबण्डा भएको थियो ।

गोरखा जिससमा माओवादी केन्द्रको एकल नेतृत्व आएको छ । प्रमुखमा माओवादीका मोहनबहादुर थापा र उपप्रमुखमा लीला परियार निर्वाचित भएकी छिन् । ९ सदस्यीय जिससमा माओवादीका उमेदवार निर्विरोध निर्वाचित भएका थिए ।

बागलुङको जिससमा गठबन्धनले जितेको छ । गठबन्धनबाट राष्ट्रिय जनमोर्चा पार्टीका नेता अमरबहादुर थापा जिसस प्रमुख निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा एकीकृत समाजवादीका होमनाथ शर्मा विजयी भएका छन् । काँग्रेस माओवादी र जसपाले जिसस सदस्य पाएका छन् । स्याङ्जा जिससमा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ ।

काँग्रेस र एमालेले ११–११ मत भएपछि गोलाप्रथा गरिएको थियो । काँग्रेसले प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा थियो । प्रमुखसहित चार सदस्य काँग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो ।

मनाङको जिससको प्रमुख र उपप्रमुख गोलाप्रथाबाट टुंग्याइएको छ । गोला तान्दा प्रमुख पद एमालेलाई चिट्ठा परेको छ । एमालेका चीनबहादुर घले प्रमुख बनाएका छन् । उपप्रमुखको चिट्ठा भने काँग्रेसलाई परेको छ । सुरेन्द्र गुरुङ उपप्रमुख बनेका छन् ।

तनहुँ र नवलपुरको जिसस निर्वाचन हुन बाँकी छ । नवलपुरको निर्वाचन असार ४ गते हुने छ । तनहुँमा निर्वाचनको मिति नतोकिएको भएपनि प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी गठबन्धनभित्र सहमति भएको छ । तनहुँमा गठबन्धनले जिसस चुनाव जित्ने निश्चित जस्तै छ ।