सानुसरे विमान दुर्घटनाः दाहिने मोडिनुपर्ने विमान देब्रे लागेपछि दुर्घटना’

  • १७ जेष्ठ २०७९, मंगलवार
  • 746 पटक पढिएको

म्याग्दी, १७ जेठ । तारा एयरको कलसाइन ‘९ एन–एइटी’ विमान उडानका क्रममा दाहिने मोडिनुपर्नेमा देब्रेतिर लागेपछि पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । आइतबार बिहान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको विमान २१ घन्टापछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानुसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको थियो ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दुर्घटनाबारे भने, ‘जोमसोम विमानस्थल पुग्न आठ नटिकल माइलको दूरी बाँकी छँदा विमान दुर्घटना भएको देखियो । उक्त ठाउँबाट ‘राइट टर्न’ हुनुपर्नेमा ‘लेफ्ट टर्न’ भएर दुर्घटना भएको देखिएको छ । ब्ल्याकबक्स भेटिएपछि थप स्पष्ट भइन्छ ।’ दुर्घटना भएको विमान उक्त ठाउँ पुग्नुभन्दा तीन मिनेटअघि मात्रै समिट एयरको विमान पुगेको र चालक दलका सदस्यले मौसम खराब नभएको सूचना दिएकाले मौसम दुर्घटनाको कारण नभएको पनि उनले बताए ।

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना रहेकामा २० जनाको शव निकालिएको छ । १० शव काठमाडौं पठाइएको र १० शव संकलन गरेर कोबाङमा राखिएको छ । एउटा शव घटनास्थलबाट उद्धार गर्न बाँकी छ भने अर्का एक यात्रुको अवस्था अझै अज्ञात छ । सोमबार रात परेपछि स्थगित भएको उद्धार मंगलवार विहानबाट पुन सुरु भएको छ ।

समुद्र सतहबाट करिब चार हजार तीन सय मिटर उचाइमा रहेको दुर्घटनास्थल त्यस क्षेत्रमा यार्सा टिप्न गएका बाग्लुङका विशाल घर्तीले फेला पारेका थिए । आइतबारै विमान दुर्घटनाको सूचना पाए पनि मौसम प्रतिकूलताका कारण रोकिएका विशाल र उनका साथीहरू सोमबार बिहान मात्रै आशंका गरिएको ठाउँतिर लागेका थिए । भिरमा दुर्घटनाग्रस्त विमान देखेपछि उनले स्थानीयलाई जानकारी गराएका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा रहेकाहरूलाई सम्पर्क गरेर फोटो–भिडियो मागेको थियो । दुर्घटनास्थल फेला परेको यकिन गरेपछि सेना र प्रहरी उद्धारका लागि पुगेका थिए ।

‘सानोसरे क्षेत्रमा यार्सा टिप्न बाग्लुङबाट आएका विशाल घर्ती र उनका साथीहरूले दुर्घटनाग्रस्त जहाजको फोटो र भिडियो सार्वजनिक गरेपछि घटनास्थल पहिचान भएको थियो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘त्यसपछि हवाई र पैदलमार्गबाट खोजी तथा उद्धार सुरु भएको हो ।’

दुर्घटना भएको जहाजमा आगलागी भने भएको छैन । अधिकांश शव पहिचान गर्न सकिने उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । चालक दलका तीन सदस्य रहेको विमानमा १३ नेपाली यात्रु, चार भारतीय र दुई जर्मन नागरिक थिए । आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडेको उक्त विमान १०ः१५ देखि सम्पर्कविहीन भएको थियो ।