माओवादी केन्द्रद्धारा बेनी नगर र मालिका गाउँपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार छनौट
- ९ बैशाख २०७९, शुक्रबार
- 1464 पटक पढिएको
बेनी, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर तथा मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेद्वार छनोट गरेको छ । पालिका कमिटी र जिल्ला समितिबाट गरेको सिफारिसको आधारमा शुक्रवार पार्टीको प्रदेश कमिटीको सचिबालयले उम्मेदवारहरुको छनौट गरेको हो ।
माओवादी केन्द्रबाट बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा ज्योती लामिछाने पौडेल उम्मेदवार चयन हुनुभएको छ । बेनीको मेयरको उम्मेदवारमा माओवादीबाट जैसी संगै सेरबहादुर केसीको नाम समेत सिफारिस भएको थियो । माओवादीबाट मेयर पदको उम्मेदवार बन्नुभएका बेनपा ३ भकिम्ली निवासी जैसी माओवादीको श्रम तथा वैदेशिक रोजगार विभागको केन्द्रिय सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल केन्द्रिय मह व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।
उपमेयरको उमेद्वार चयन हुनुभएकी पौडेल अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ गत चुनावमा उपमेयरमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । सहकारी र सामाजिक संघ संस्थामा सक्रीय बेनपा–७ कुरीलाखर्क निवासी पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुनुहुन्छ ।
त्यसैगरि प्रदेश समितिले मालिका गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णयलाई समेत अनुमोदन गरेको छ । सत्तागठबन्धनका दलहरुबिच निर्वाचनमा तालमेल गर्ने सैदान्तिक सहमती गरेपनि उम्मेवारी बाँडफाँटमा सहमती जुट्न सकेको छैन । बेनीमा नेपाली काँग्रेसबाट चिरञ्जिवि शर्मा र नेकपा एकिकृत समाजवादीको तर्फबाट कृष्णकुमार विश्वकर्मालाई मेयरको उम्मेवार बनाइएको छ ।