बेनी– ७ को वडा अध्यक्षमा श्रेष्ठद्वारा स्वतन्त्रबाट उम्मेदवारी घोषणा
- ६ बैशाख २०७९, मंगलवार
- 1127 पटक पढिएको
म्याग्दी, ६ बैशाख । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । हुलाकचोक निवासी यूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता भएकाले नरेशले धेरै मत प्रभावित पार्न सक्ने अनुमान छ । समाज परिवर्तन तथा समृद्ध वडा बनाउन युवाका भूमिका महत्वपूर्ण रहेको भन्दै श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध श्रेष्ठले वडाभित्र केही नमुना कामगर्ने योजना स्वरुप वडा अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
बेनीको हुलाकचोक नरेश मोवाइल सेन्टर संचालन गर्नुभएका श्रेष्ठले वडाको समग्र विकास तथा वडाबासीको सुखदुःखमा साथ दिनका लागि चुनावी मैदानमा उत्रिएको बताउँदै विस्तारै घरदैलो अभियान, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भोट मागिरहेकाले एकपटक वडाबासीको साथको अपेक्षा गर्नुभएको छ ।
म्याग्दी जिल्लाकै प्रशासनिक क्षेत्र भएको वडालाई नमुना बनाउन सकेमा जिल्ला नै नमुना हुने श्रेष्ठको धारणा छ । लायन्स क्लव बेनीपिस सिटीको अध्यक्ष हुदाँ श्रेष्ठले भोकभोकै मर्न थालेका पशुचौपायालाई खाना देखि विपन्नलाई खाद्यान्न सहित स्वास्थ्य साम्रागी वितरण गरी लायन्सको देशभरी नै उत्कृष्ट शाखाको सम्मान समेत प्राप्त गर्नुभएको थियो ।
बेनपा–७मा श्रेष्ठको उम्मेदवारीले चर्चासंगै यसअगाडी वडामा स्वतन्त्रबाटै बेनी नगरपालिकाका पुर्व कर्मचारी कृष्णप्रसाद शाक्यले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ । नेकपा एमालेले वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस र माओवादीले उम्मेदवार चयन गरिसकेका छैनन् ।