बेनी बजारको सडकमा गरिएको एकतर्फी यातायात दुई महिनामै स्थगीत हुँदै
- ३ फाल्गुन २०७८, मंगलवार
- 956 पटक पढिएको
म्याग्दी ३ फागुन। म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका दुई महिनामै पछि हटेको छ । बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले सुरक्षा निकायको अनुरोधमा गत पुस १ गतेदेखि एकतर्फी यातायात सुचारु गरिएको थियो ।
एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्यूरोड क्षेत्रका व्यवसायिहरु, टोल सुधार समिति र म्याग्दी उद्योग बाणिज्य संघका पदाधिकारीहरुको समेत दबाब भएपछि नगरपालिका आफ्नो पूर्ववत निर्णयबाट पछि हट्ने निचोडमा पुगेको जनाइएको छ ।बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार पुस १ गतेदेखि बेनी बजार भित्र क्याम्पसचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडीसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो ।
सोमबार बेनी नगरपालिकामा उद्योग बाणिज्य संघ, टोल सुधार समिति र सुरक्षा निकायका प्रतिनिधिहरुबिच भएको छलफलमा सुरक्षा निकायको असहमतीका बिच एकतर्फी यातायात सञ्चालनको निर्णयबाट नगरपालिका पछि हट्ने निष्कर्षमा पुगेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र उद्योग बाणिज्य संघबाट पटक पटक भएको असहमती सहितको ध्यानकर्षणको कारण पुर्नबिचारको अवस्थामा पुगिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।
‘‘सुरक्षा अधिकारी बाहेक सहभागी अधिकाँशले एकतर्फी यातायातले व्यापार व्यवसायमा गम्भिर असर परेको भन्नुभएको छ, अव्यवस्थित तवरले बनेका पालि, टहरा हटाउन उद्योग बाणिज्य संघ र टोल विकास समितिले नगरपालिकासंग समन्वय गरि हटाउने र यातायात सञ्चालनको बारेमा प्रतिवेदन पेश गरेपछि थप निर्णय गर्ने सल्लाह भएको छ’’– उहाँले भन्नुभयो ।
उक्त बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले एकतर्फी यातायातले सडक दुर्घटना न्यूनिकरण भएको, सर्वसाधारण, यात्रु र यातायातका साधन चलाउनेहरुलाई समेत सहज भएको भन्दै एकतर्फी यातायातको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । ट्राफिक प्रहरी सहितको सुरक्षा निकायका प्रतिनिधिको असहमतिका बिच नगरपालिका निर्णयबाट पछि हट्ने अवस्था आएपछि सुरक्षा निकायका प्रतिनिधिहरुले बैठक छाडेर निस्किएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बेनी बजारभित्रका सडक साँघुरो भएको र दोहोरो सवारीका कारण दुर्घटना र जाम लगायतको ट्राफिक समस्या न्यूनीकरणमा एकतर्फी यातायातले टेवा पु¥याएको कारण यसलाई निरन्तरता गर्दै थप व्यवस्थित गर्न आफुहरुले सुझाब दिएको बताउनुभयो ।
नगरपालिकाले सोमबार गरेको निर्णय यस्तो छ
बेनी बजारलाई व्यवस्थित गराउने क्रममा मिति २०७८/०८/१४ गतेको निर्णयवाट कार्यान्वयन गरिएको एकतर्फी सडक सञ्चालनबाट व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना गरेको भन्ने भन्ने आज उपस्थित व्यवसायि तथा टोल सुधार समितिका तर्फबाट उपस्थित सबैको साझा धारणा देखिएको हुँदा साविकमा ट्रायलको रुपमा गरिएको एकतर्फी यातायात सञ्चालनको कार्यलाई मनन गरी दुईतर्फी यातायात सञ्चालनको विषयमा आबश्यकता अनुसार उद्योग बाणिज्य संघको नेतृत्वमा टोल सुधार समिति र उद्योग वाणिज्य संघबिच व्यापक छलफल गरी बजार व्यवस्थापनका बिषयमा थप सुधारका उपायहरु सहित सिफारिश गर्ने र नगरपालिकासँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गराउने निर्णय गरियो।