भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु
- २४ माघ २०७८, सोमबार
- धिरन खत्री
- 915 पटक पढिएको
म्याग्दी, २४ माघ । रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भगवतिस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण शुरु भएको हो ।
वडा अध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिनुभयो । “गाउँपालिका, प्रदेश सरकार र जिससको साझेदारीमा भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “आगामी जेठ १५ गतेभित्र भवन सम्पन्न गरिसक्ने लक्ष्य छ ।”
भवन बनाउन चालु आर्थिक बर्षमा गाउँपालिकाले रु. दश लाख, जिससले रु. २५ लाख र प्रदेश सरकारले रु. ३५ लाख बिनियोजन गरेका थिए । ठेक्का प्रतिस्पर्धाका क्रममा कर र पिएस बाहेक रु. ४२ लाख ६९ हजार ९२५ कबोलेको भण्डारी निर्माण सेवा छनौट भएको गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।
“एक तले चार वटा कोठा, महिला र पुरुषका लागि छुट्टाछट्टै शौचालय भएको अपाङ्गमैत्री भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “वडा अध्यक्ष, सचिब, जनप्रतिनिधी र बैठक कक्षका लागि कोठा हुनेछन् ।”
हाल वडा कार्यालय सञ्चालन भएको पुरानो भवन साँघुरो र जिर्ण छ । सेवा प्रवाह गर्न असहज भएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज र ब्यवस्थित हुने वडा सचिब बिष्णु भण्डारीले बताउनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजनमा सहयोग गर्ने गण्डकी प्रदेशका सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीलाई वडा अध्यक्ष कटुवालले धन्यवाद दिनुभएको छ ।
![](https://myagdionline.com/wp-content/themes/myagdi/assets/images/dhiren.jpg)
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l