एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत

  • २५ पुष २०७८, आईतवार
  • 1363 पटक पढिएको

म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो ।

अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै निवर्तमान जिल्ला सचिब समेत रहनुभएका अध्यक्ष पदका पत्यासि सुवेदीले केसीलाई आफुले अध्यक्ष पदमा समर्थन जनाएको घोषणा गर्नुभएको छ । निर्वाचन मण्डलले औपचारिक रुपमा निर्वाचित पदाधिकारीहरु घोषणा गरी प्रमाणपत्र वितरण गर्ने जनाईएको छ र । एमाले अध्यक्ष्मा निर्विरोध हुनुभएका केसी जिल्ला समन्वय समितिको प्रमुख समेत हुनुहुन्छ ।

केसीको राजनीतिक यात्रा यस्तो छ
नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्रबहादुर केसीको राजनीतिक यात्रा संघर्षमय र उतारचढापपूर्ण छ । सालिन र इमान्दार राजनीतिज्ञको छवि बनाउनुभएका केसीको जन्मथलो रघुगंगा गाउँपालिका–२ भगवती हो । हाल जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहनुभएका केसी शिक्षण पेसालाई छाडेर सक्रिय राजनीतिमा लाग्नुभएको थियो । आमा लक्ष्मि कुमारी कटुवाल र बुबा स्वर्गिय खिमबहादुर कटुवालको जेठो छोरा रहनुभएका केसीले मुक्तिधाम माविबाट एसएलसी र पोखराको पृथ्वीनारायण क्याम्पसबाट व्यवस्थापन संकायबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

केसी विद्यार्थी उमेरदेखि नै राजनीतिमा होमिनुभएको थियो । २०३६ सालमा कक्षा १० मा पढ्दै गर्दा पञ्चायत र बहुदलको लागि भएको निर्वाचनमा बहुदलको पक्षमा प्रचार–प्रसारमा जुटेपनि २०३८ सालमा पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा भर्ना भएपछि उहाँले त्यहाँ अनेरास्ववियू पाँचौँको सहायक प्रारम्भीक कमिटीको सदस्यता लिएर औपचारीक रुपमा विद्यार्थी राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले त्यहाँ अनेरास्ववियू पाँचौको प्रारम्भिक कमिटीमा बसेर काम गर्नुभयो ।

२०४६ सालमा पढाई सकेर गृहजिल्ला फर्किएपछि केसीले एक बर्ष करारमा कोलेनिका म्याग्दीमा लेखापालको रुपमा समेत काम गर्नुभएको थियो । एसएलसी दिएकै बर्ष तत्कालिन कृष्ण प्रावि बाँदुकमा एक बर्ष शिक्षण गर्नुभएका केसीले २०४२ देखि ४४ सम्म मुक्तिधाम माविमा शिक्षण गर्नुभएको थियो भने त्यसपछि आदर्श मावि रिममा ७ बर्ष प्रअ भएर शिक्षण पेशा अंगाल्नुभएको थियो । यस बिचमा केसीले एमालेको तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठन र शिक्षक संगठनमा आबद्ध भएर राजनीतिक यात्रालाई अघि बढाउनुभएको थियो। युवा संगठनमा जिल्ला सम्मेलन आयोजक कमिटीमा बसेर काम गर्नुभएका केसी २०५१ देखि २०५४ सम्म दुई कार्यकाल संगठनको जिल्ला अध्यक्ष भएर समेत गर्नुभएको थियो ।

आदर्श मावि रिमको प्रअबाट राजीनामा दिएपछि २०५४ देखि पूर्णकालिन राजनीतिमा लाग्नुभएका केसीले एमालेको तत्कालिन गाउँ कमिटि र ईलाका कमिटीको सचिब पदमा रहेर काम गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक भगवती गाविसको अध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको थियो । ३३ बर्षको उमेरमा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका केसीले तत्कालिन गाविस महासंघको जिल्ला सचिब पदमा रहेर समेत काम गर्नुभएको थियो । विद्यार्थी र युवा संगठन हुँदै २०५७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएका केसी त्यसपछि सचिबालय सदस्य हुँदै लगातार दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको छ ।