स्वास्थ्य विमामा म्याग्दीबाट २४ हजार आवद्ध

  • १६ पुष २०७८, शुक्रबार
  • 755 पटक पढिएको

 

म्याग्दी, १६ पुस । म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुष १३ गतेदेखि लागु भएको स्वास्थ्य विमामा सो संख्याले विमा गरेका हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीतिअनुसार सुरु भएको स्वास्थ्य विमा पछिल्लो समय प्रभावकारी हुर्दै गएको कार्यालय प्रमुख बरालले बताए ।

म्याग्दी मिडिया सोसाईटीले आयोजित जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा कार्यक्रममा कार्यालय प्रमुख बरालका अनुसार, म्याग्दीमा ९ हजार ५४ परिवार विमामा आवद्ध भएका छन् । बेनी अस्पताल र दरबाङमा रहेका अस्पतालबाट पछिल्लो समय स्वास्थ्य विमा आवद्धहरुले सेवाहरु लिने गरेका छन् । ६ स्थानीय तह रहेको म्याग्दीमा कुल विमाको ७३ प्रतिशत विमित बीमा नविकरण गरेका छन् । ४ हजार ३७४ जना जेष्ठ नागरिक, २४ जना एसआईभी संक्रमित, ८१ जना अशक्त अपाङ्गले लगायत स्वास्थ्य विमामा आवद्ध रहेको कार्यालय प्रमुख बरालले जानकारी दिए ।

कार्यालय प्रमुख बरालले जिल्लामा स्वास्थ्य बीमाको प्रचार प्रसारमा पत्रकार र सञ्चारकर्मीहरुले रचनात्मक भूमिका खेलेको बताए । उनले हरेक पालिकामा अस्पताल छिटो बनाउन सके स्वास्थ्य विमा प्रयोग गर्ने संख्या बढ्ने बताउदै अन्नपुर्ण, रघुगंगा, मंगला र धवलागिरीमा तत्काल अस्पताल बनाउन आग्रह गरे । ५ जना सम्मको परिवारलाई रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य विमा गरेपछि प्रतिपरिवारले बार्षिक रु १ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले स्वास्थ्य बीमाको कारण बेनी अस्पतालमा उपचारको लागि आउने विरामीहरुको संख्या बढेको र सोसाईटीले सामूहिक रुपमा गरेको स्वास्थ्य बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुगेको बताए । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिमितहरुमा स्वास्थ्य बीमाबाट जुनसुकै अस्पतालमा जहिलेपनि सबै उपचार र औषधी निशुल्क पाइन्छ भन्ने भ्रम रहेकाले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्नतर्फ ध्यान दिन आग्रह गरे ।

म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले बिगत तीन बर्षदेखि संस्थामा आबद्ध पत्रकार र उनीहरुका घरपरिवारको समेत स्वास्थ्य उपचारमा सघाउन सामुहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएकोे बताए । उक्त कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहजकर्ता चण्डीका पौडेलले बीमितहरुले अस्पतालबाट प्राप्त गर्नुपर्ने औषधी नपाउने, पोखरा लगायतका अस्पताल जाँदा रेफरमा ढिलाई हुने, अस्पतालका स्वास्थ्यकर्मीबाट दोहोरो व्यवहार हुने, बिदाको दिनमा सेवा नपाउने गुनासा आएको भन्दै ध्यानकर्षण गराएकी थिईन ।