गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीनजना अलपत्र

  • १५ पुष २०७८, बिहीबार
  • 907 पटक पढिएको

म्याग्दी १५ पुस। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ ।

बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र भएका छन् । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।