जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित
- १७ मंसिर २०७८, शुक्रबार
- कमल खत्री
- 749 पटक पढिएको
कमल खत्री
बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको समय सकिएपनि राजनीतिक सरगर्मीका कारण वडा र पालिकाका जनप्रतिनिधिहरु दलका भेला, बैठक तथा आन्तरिक पार्टीको अधिवेशनहरुमा व्यस्त हुँदा उपभोक्ता समिति गठनतर्फ समय दिन सकेका छैनन् ।
अधिकाँश स्थानीय तहहरुले पहिलो चौमासिकमा योजना सम्भौता र ठेक्का प्रकृया सक्ने लक्ष्य लिएको भएपनि त्यो पुरा हुन सकेको छैन् । पार्टीको आन्तरिक अधिवेशनले जनप्रतिनिधि कार्यालयमा भेटिन समेत छाडेका छन् । आफ्नो कार्यकालयको अन्तिम बजेट कार्यान्वयन हुने बर्ष भएकाले उपभोक्ता समिति गठनमा जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिलाई समितिमा राख्न इच्छुक छन् । तर पार्टीका अधिवेशनमा व्यस्त हुँदा उपभोक्ता समिति गठनमा उनीहरुले समय दिन नसकेका कारण उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजना कार्यान्वयन प्रभावित बनेको आम गुनासो आउन थालेको छ ।
जिल्लामा रहेको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले पहिलो चौमासिकमा पुँजीगततर्फ ७ दशमलब ३५ प्रतिशत र चालुतर्फ २२ दशमलब ८८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ६७ करोड ८१ लख ५३ हजार बजेट रहेको यस नगरपालिकाले कुल १७ दशमलब ५१ प्रतिशत बजेट खर्च गरेको सुचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, नगरपालिकाले कार्ययोजना नै निर्माण गरि योजना तथा कार्यक्रमलाई प्रभाबकारी कार्यान्वयन गर्न थालिसकेको छ । चालु आर्थिक बर्षका लागि कुल ४०४ वटा योजना तथा कार्यक्रम सञ्चालनको लागि छनौट भएकोमा अहिलेसम्म ११ वटा योजना सम्पन्न भएका छन भने १८ वटा योजना कार्यान्वयनको चरणमा छन् । नगरपालिकामा समेत उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजनाको लागि समिति गठन र सम्झौतामा ढिलासुस्ती भएको छ ।
जिल्लाको रघुगंगा गाउँपालिकामा पहिलो चौमासिकमा पुँजीगत तर्फ ३ दशमलब ३ प्रतिशत मात्रै खर्च भएको छ ।
कुल ३० करोड ३३ लाख ८४ हजार ३ सय चालु बजेटमध्ये ६ करोड १५ लाख १८ हजार ५८० अर्थात २० दशमलब २६ प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ न्यून खर्च भएको छ । पुँजीगत बजेट रु १४ करोड ७५ लाख २४ हजार ७ सय मध्ये रु ४४ लाख ७१ हजार ५५७ मात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ‘‘ योजना कार्यान्वयनमा ढिलाई हँुदा पुँजीगत खर्च कम भएको छ, योजना सम्झौताको काम सुरु भएको छ, हिउँदयाम लागेकाले योजना कार्यान्वयनलाई गति दिन आबश्यक प्रकृया अघि बढाएका छाँै’’–उहाँले भन्नुभयो । कात्तिकभित्र योजना सम्झौताको काम सक्ने लक्ष्य रहेपनि अहिलेसम्म दशैँ लक्षित सडक मर्मतका ८ वटा योजना सहितका जम्मा १३ वटा योजनाको मात्रै उपभोक्ता समिति गठन गरि सम्झौता भएको छ । कुल १०४ वटा योजनामध्ये ५ वटा योजनालाई ठेक्का मार्फत अघि बढाईएको छ भने दुई वटा योजना ठेक्का प्रकृयामा रहेका छन् ।
मंगला गाउँपालिकामा कुल रु ४२ करोड २७ लाख बजेटमध्ये चालुतर्फ २१ दशमलब ५९ प्रतिशत बजेट खर्च हुँदा पुँजीगत तर्फ जम्मा १ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको छ । विकास निर्माण तर्फका काम नभएकाले पुँजीगत खर्च हुन नसकेको गाउँपालिकाले जनाएको छ । पहिलो चौमासिकमा कुल १४ दशमलब १२ प्रतिशत मात्रै वित्तिय प्रगति भएको प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो । ‘‘ साना योजना १२ वटा सम्पन्न भएर भुक्तानी गरेका छाँै, अहिले योजनाको स्टीमेट तयार गर्ने र उपभोक्ता समिति गठन गरि सम्झौता गर्ने काम धमाधम भैरहेको छ , अहिलेसम्म २७ वटा योजना सम्झौता भएका छन, मङ्सिर भित्रमा योजना सम्झौता सक्ने लक्ष्य लिएका छौँ’’–उहाँले भन्नुभयो । कुल २७४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने मंगला गाउँपालिकाले ४ वटा ठुला योजनालाई ठेक्का मार्फत अघि बढाएको छ । तीन वटा योजना ठेक्का सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकिय अधिकृत ढुंगानाले बताउनुभयो । उहाँका अनुसार, आगामी चैत्र भित्र अधिकाँश र जेठ १५ भित्रमा सबै योजना सम्पन्न गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।
मालिका गाउँपालिकामा कुल ४४ करोड ५८ लाख ६१ हजार बजेट मध्ये ५ करोड २५ लाख ३३ हजार ८२५ मात्रै खर्च भएको छ । खर्च भएको बजेटमध्ये पुँजीगततर्फ २ दशमलब ०६ प्रतिशत र चालुतर्फ १९ दशमलब ३५ प्रतिशत बजेट खर्च भएको गाउँपालिको जनाएको छ । योजना कार्यान्वयन भएर रकम भुक्तानी नभएको कारण पुँजीगत तर्फको बजेट खर्च हुन नसकेको जनाइएको छ ।यस गाउँपालिकामा कुल १५५ वटा योजनामध्ये २० वटा योजना मात्रै सम्झौता भएका छन् । ३ वटा योजनालाई ठेक्का मार्फत अघि बढाईएको छ । पहिलो चौमासिकमा उपभोक्ता समिति गठन गरि सम्झौताका काम सक्ने लक्ष्य भएपनि चाडपर्व, राजनीतिक दलका अधिवेशन लगायतका कारणले प्रभावित बनेपनि मङ्सिर महिनाभित्रमा योजना सम्झौताका काम सक्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाले चैत्र मसान्तभित्र पूर्वाधार निर्माणका काम सक्ने लक्ष्य बनाएको छ ।
धवलागिरि गाउँपालिकामा कुल रु ४० करोड बजेटमध्ये पुँजीगत तर्फ ८ प्रतिशत र चालुतर्फ १७ दशमलब १३ प्रतिशत बजेट खर्च भएको छ । दशैँ लक्षित सडक मर्मतका योजना सम्पन्न भएर भुक्तानी भएको छ । पूर्वाधार निर्माणतर्फ थप २ योजना मात्रै सम्झौता भएको र अपायक पर्ने वडाहरुका योजना सम्झौता गर्न घुम्ती रुपमा वडा स्तरमै जाने तयारी गरिएको प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो । उहाँका अुनसार, मराङ, मल्कबाङ, मुदी, ताकम लगायतका वडाहरुमै पुगेर योजना सम्झौता गर्ने तयारी गरिएको छ । गाउँपालिकाले सञ्चालन गर्ने १५० वटा पूर्वाधार योजनालाई वैशाखभित्र नै सम्पन्न गर्न गरि तयारी थालिएको जनाइएको छ । ठेक्का मार्फत कार्यान्वयन हुने ६ वटा योजनामध्ये ४ वटा योजना सम्झौता भएको छ भने एक वटा ठेक्का मुल्याङ्कनको प्रकृयामा रहेको छ ।
अन्नपूर्ण गाउँपालिकामा ४२ करोड ३० लाख कुल बजेटमध्ये पुँजीगत तर्फ जम्मा ० दशमलब ५२ प्रतिशत र चालुतर्फ १८ दशमलब ६४ प्रतिशत बजेट खर्च भएको छ । प्रकोप व्यवस्थापनतर्फ भने ३१ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले आगामी फागुन भित्र पूर्वाधार तर्फका योजनाको काम सक्ने लक्ष्य लिएको भएपनि उपभोक्ता समिति मार्फत हुने योजनाहरुमा समिति गठनमा ढिलाई हुुँदा प्रभावित हुने देखिएको छ । गाउँपालिकाले यस बर्ष पूर्वाधार तर्फका १३० वटा योजना छनौट गरेको छ । ती मध्ये ४ वटा सम्झौता भएको र ४ वटा योजना ठेक्का प्रकृयामा रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । अन्नपूर्णले रु ३ लाख बजेटसम्मका योजनाको सम्झौता वडाबाटै गर्ने भएको छ । त्यस्ता योजना ६८ वटा छन् । पालिका स्तरबाट सञ्चालन हुने योजना ६२ वटा छन् । वडाबाट सञ्चालन हुने योजनाको सम्झौता वडामै हुने र अहिले अधिकाँश योजनाको लागत स्टीमेट तयार गर्ने र सम्झौता गर्ने काम धमाधम भैरहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l