गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको चहलपहल (तस्बिर र भिडियाे)
१७ मंसिर २०७८, शुक्रबार
941 पटक पढिएको
म्याग्दी १७ मंसिर । पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए ।
बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जाँै, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरिका बीउ छर्न आएका भक्तजनको घुइँचो लागेको हो । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।
गलेश्वरमा शतबीज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासीलगायतका स्थानबाटसमेत भक्तजन आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ । द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा शतबीज छर्नका लागि हजारौँ भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका भीमनाथ पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गलेश्वरमा रातभरि भजनकीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीका दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन छ । दुई वर्षअघिसम्म गलेश्वरमा पूजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलासमेत लाग्ने गर्दथ्यो । तर कोभिड–१९ को सङ्क्रमणका कारणले गत वर्ष र यस वर्ष मेला र घुम्ती व्यापारमा न्यून छ । बिगतका बर्षकाे तुलनामा यस बर्ष चहलपहल कम छ ।