विद्यालयलाई प्रविधिमैत्री बनाउन जलजला गाउँपालिकाद्वारा ल्यापटप र प्रिन्टर वितरण

  • १९ आश्विन २०७८, मंगलवार
  • 700 पटक पढिएको

 

जलजला, १९ असोज । पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयहरूलाई ल्यापटप, फोटोकपी, प्रिन्टर लगायतका सामग्रीहरू वितरण गरेको हो ।

आधारभूत विद्यालयदेखि माविसम्मको विद्यालयहरूको लागि आई.सी.टी उपकरणहरू सहयोग गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीका अनुसार, स्थानीय तहभित्र रहेका विद्यालयलाई ५२ वटा ल्यापटप खरिद गरी ३६ लाख ४० हजार रुपैयाँ र ४४ वटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधा सहितका प्रिन्टरहरू प्रदान गरिएको जानकारी दिए । शिक्षण सिकाइलाई ब्यवस्थित बनाउन प्रविधिसंगै विद्यालयलाई इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने गरिएको समेत बताए । गाउँपालिकाले प्रधानाध्यापकको उपस्थितमा सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण तथा तालिमको लागि पनि तयारी गरिएको बताए । अध्यक्ष मल्लले विद्यालयको माग अनुसार नै हरेक विद्यालयलाई ल्यापटप दिइएको र अनुगमनमा जाँदा छोपेर नराख्न आग्रह गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले शिक्षाको विकास भए मात्र अन्य क्षेत्रको विकासमा सहयोग पुग्ने बताउदै शिक्षालाई गुणस्तर बनाउन जनप्रतिनिधि, शिक्षक, अभिभावक सबै जिम्मेवार बन्न आग्रह गरे । विद्यालयलको सिकाईलाई गुणस्तर कायम गर्न प्रविधिको प्रयोगबाट शिक्षणमा गराउन गाउँपालिकाले यो लगानी गरेको उल्लेख गरे । सो कार्यक्रममा प्रधानध्यापक समक्ष जलजला भित्र शिक्षक दरबन्दी मिलानको अन्तिम तयारी भइरहेको समेत जानकारी गराए ।

गाउँपालिकाको वडा नं. ६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाईजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताईन् । स्थानीय स्रोत र साधनको उपयोगितामा ध्यान दिन सक्ने गरी स्थानीय पाठ्यक्रम निर्माणको लागि समिति निर्माणको काम थालिएको र त्यसको ड्राफ्ट गर्ने काम पनि केही समयमा नै सुरु हुने गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी दामोदर रेग्मीले बताए । कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक गोविन्द खत्रीले कोभिड-१९ संक्रमण पूणर् नियन्त्रणमा नरहेका कारण विद्यालयले जनस्वास्थ्य मापदण्डलाई पुणर् रुपमा पालन गर्न आग्रह गरेका थिए ।