सहमती कार्यान्वयनको लागि दबाब दिन नेकपाद्धारा प्रशासन कार्यालयमा धर्ना

  • १८ आश्विन २०७८, सोमबार
  • 853 पटक पढिएको

म्याग्दी १८ असोज । नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग भएको तीन बुँदे सहमती यथाशीघ्र कार्यान्वयनको माग गर्दै दबाबमुलक आन्दोलन सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार नेकपा म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम म्याग्दी इन्चार्ज ध्रुव घिमिरेको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा दिउँसो १ बजेदेखि दुई बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको थियो ।

सोमबार नै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीन बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् । पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विप्लवले विशेष कार्यदल गठन गरेर सहमति कार्यान्वयन गर्न माग गरेका हुन् । तीन बुँदे कार्यान्वयनका लागि पटकपटक सरकारको ध्यानाकर्षण गर्दा पनि माग पूरा नभएपछि विप्लवले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन्।


सहमति कार्यान्वयनको शुरुमै बन्दीको रिहाइ र मुद्दा खारेजी हुनुपर्ने उल्लेख भएपनि यहि विषयमा ढिलासुस्ती भएको विप्लवको गुनासो छ । सरकारसँग भएको यो सहमति राजनीतिक मुद्दा भएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं।’