नेपाली कांग्रेसको पालिका अधिवेशन : मंगला, मालिका र धवलागिरिमा सर्वसम्मत नेतृत्व
- ९ आश्विन २०७८, शनिबार
- 969 पटक पढिएको
म्याग्दी ९ असोज । नेपाली काँग्रेसको आज हुन गैरहेको पालिका अधिवेशन म्याग्दीमा रोचक मोडमा गएको छ । प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गतको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा काँग्रेस नेतृत्व चयनमा मतदान हुने देखिएको छ भने प्रदेश निर्वाचन क्षेत्र ख अन्र्तगतका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ख का तीन पालिकामा सहमतीमा नै पालिका सभापतीहरुको टुङ्गो लागेको निर्वाचन क्षेत्र ख का सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलामा नरसिंह बहादुर केसी, मालिकामा खिम पुन र धवलागिरिमा प्रेम पुनलाई सर्वसम्मत सभापति चयन गर्ने सहमती भएको र आज हुने अधिवेशनमा घोषणा गरिनेछ ।
सभापतीको टुङ्गो लागेपनि अरु पदका लागि भने आज छलफलबाट सहमति हुने काँग्रेसले जनाएको छ । यद्यपी तीनै पालिकामा घोषित नभएपनि आन्तरिक रुपमा नेतृत्वको लागि अन्य व्यक्तिले समेत आकाक्षी देखिएको भएपनि सभापतिका लागि सहमती भएको छ ।
बेनी नगरपालिकामा बेनीमा विक्रम बोगटी र रविन्द्र कार्कीले दुई छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । कार्कीलाइ खमवीर गर्वुजा र बोगटीलाई रेशम बानियाँ पक्षको समर्थन रहेको छ ।
त्यसैगरि रघुगंगा गाउँपालिकामा औपचारिक रुपमा कसैले पनि उम्मेदवारी घोषणा नगरेपनि पार्टीको आन्तरिक रुपमा दुवै पक्षले आ–आफ्नो उम्मेदवार तयार गरेका छन् । गर्वुजा पक्षबाट वडा नम्बर ६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता मनकुमार शेरपुञ्जा र बानियाँ पक्षबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका पाका नेता भबबहादुर भण्डारी सभापतीको होडमा हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिकमा बानियाँ पक्षबाट वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनुभएका कृष्णप्रसाद बरुवालले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ भने गर्वुजा पक्षको समर्थनमा वडा नम्बर ५ का कार्यबहाक वडा अध्यक्ष राजेश तिलिजालाई सभापतिको रुपमा अघि सारेको चर्चा चलेको छ । तिलिजाले पालिका नेतृत्वको लागि आफुले तयारी थालिसकेको बताउनुभएको छ । यहाँ दुबै प्रतिस्पर्धीले आफुले नेतृत्व लिने दावि गरेका छन् । सकेसम्म सहमतीमा नै नेतृत्व चयन हुने नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।