काँग्रेस बेनी नगरको अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको प्यानल घोषणा (भिडियाे र तस्विर सहित )
- ८ आश्विन २०७८, शुक्रबार
- 980 पटक पढिएको
म्याग्दी ८ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको असोज ९ गते हुने अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको समूहले प्यानल उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि बेनी नगरपालिका–९ घतान निवासी कार्कीले नगर सभापतिमा सहित प्यानल उम्मेदवारी घोषणा गरिएको हो ।
नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका नगरसभापतिमा उम्मेदवार बन्नुभएका युवा नेता कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिबमा झलक जिसी र संगीता श्रेष्ठ, सहसचिबमा पुष्पा कार्की महत र संगम कुमार विक उम्मेदवार बन्नुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सभापतिका उम्मेदवार कार्कीले आफुहरुले कुनै गुटको नेताहरुको आडमा नभई अग्रजको सम्मान र युवाहरुको प्रोत्साहनको लागि उम्मेदवारी दिएको बताउनुभयो । यद्यपी कार्कीको नेतृत्वको प्यानलाई काँग्रेस जिल्ला सभापति खमविर गर्वुजा पक्षको समर्थन रहेको छ । सभापतिका उम्मेदवार कार्कीले विवेकशिल, वैचारिक र सुदृढ काँग्रेसका लागि अग्रजको अनुभव र युवाहरुको संकल्प जरुरी रहेकाले पार्टीमा देखिएको गुटबन्दीबाट माथि उठेर प्यानल बनाइएको बताउनुभयो । ‘‘ पार्टीमा तिब्र गुटबन्दी भएको छ, त्यसको अन्त्य गरि सबल र सुदृढ काँग्रेस बनाउन जरुरी छ, भाषण र बोलीमा सिमित नरहेर व्यवहारमा पार्टीको आन्तरिक सुदृढिकरण आबश्यक रहेकाले हामी नेतृत्वको लागि तयार भएका हौँ’’– उहाँले भन्नुभयो ।
यस अघि काँग्रेस निवर्तमान सभापति एवम संविधान सभा सदस्य रेशम बानियाँ पक्षबाट बेनी नगर अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीलाई अघि सारिएको छ । गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसको असोज ९ गते गाउँ÷नगर अधिवेशन हुँदै छ । बेनी नगरको नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतरपक्षले छुट्टाछुट्टै प्यानल उम्मेदवारी घोषणा गरेपछि नगरको अधिवेशन थप रोचक बनेको छ । नवनिर्वाचित वडाका वडा सभापतिहरुको बहुमत पक्षले बोगटी र तरुण दलका बहुमत पक्षले कार्कीलाई समर्थन जनाएपछि बेनी नगरमा दुई पक्षबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।