‘त्यो अन्तिम भेट’(भिडियो )

  • २३ भाद्र २०७८, बुधबार
  • 1335 पटक पढिएको

म्याग्दी २३ भदौ । नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका म्याग्दीका जनप्रतिनिधिहरुलाई रोक्न नेकपा एमाले म्याग्दीले गरेको अन्तिम कसरत विफल भएको छ । जिल्लाबाट एकिकृत समाजवादी पार्टी रोजेर सनाखतका लागि कार्यपालिका सदस्यहरु कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र देउ प्रसाद छन्त्याल समर्थक नेता कार्यकर्ता सहित मंगलवार विहान करिब ११ बजे जिल्ला निर्वाचन कार्यालयमा पुग्नुभएको थियो ।

जिल्लामा पार्टी विभाजनलाई रोक्न एमालेले निरन्तर कसरत गरिरहेको थियो । जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिब बालकृष्ण सुवेदी तीन जना जनप्रतिनिधिलाई नयाँ पार्टीमा सनाखत गर्नबाट रोक्न निर्वाचन कार्यालयमै पुग्नुभएको थियो । निर्वाचन कार्यालयको बैठक कक्षमा एमालेका अध्यक्ष श्रेष्ठ, सचिब सुवेदीले समाजवादी पार्टी रोज्दै गर्नुभएका तीनै जना जनप्रतिनिधिसंग करिब आधा घण्टा बढी छलफल गर्नुभएको थियो । दुबै पक्षले बिगतमा पार्टीमा भएको योगदान र भबिश्यको जोखिमबारे भावनात्मक कुरा राखेका थिए । ओलीले एमालेलाई स्वच्छाचारी ढंगले चलाएको र त्यसको विरोध गर्दा पार्टीका बरिष्ठ नेताहरुलाई पार्टीबाट अलग्याउने प्रपन्च गरेकाले पार्टीमा विद्रोह भएको नेतृ कार्कीले भनाई राख्नुभएको थियो ।

‘‘पार्टीमा बस्न सक्ने वातावरण नै बनेन, ओलीले गरेका हरेक गल्ती र कमजोरीलाई जिल्लादेखि केन्द्रसम्मका गोटीया नेताहरुले हो मा हो मिलाउने काम भयो, पार्टीमा अन्तरसंघर्षलाई दमन गर्ने र विरोधका स्वरहरुलाई सुन्न नै छाडेपछि अहिलेको अवस्थासम्म आईपुगेको हो’’–कार्कीले श्रेष्ठ र सुवेदी समक्ष भन्नुभयो । त्यसैगरि नेता छन्त्यालले ओलीले संविधान, संसद र कम्युनिष्ट आन्दोलनमाथि गरेका गद्धार कदमका विरुद्धमा जिल्ला कमिटिले शसक्त विरोध जनाउने हिम्मत गर्ने हो भने आफुहरु एमाले छाडेर नजाने भन्दै सत्यको ओकालत र आवाज बुलन्द्ध गराउन श्रेष्ठ र सुवेदीलाई चुनौति दिनुभएको थियो ।

‘‘ तपाईहरु पनि ओली प्रवृतिको समर्थक त होइन, किन र कुन बाध्यताले त्यहाँ बस्नुभएको छ म भन्न त सक्दीन, तर गलत कुरालाई सहि हो भन्दै तालि बजाउन हामीले सक्दैनौँ र सकेनौँ’’– छन्त्यालले भन्नुभयो । त्यसैगरि नेता विश्वकर्माले समेत ओलीले गरेका गलत र स्वच्छाचारी निर्णयहरु करेक्सन नभएको र विगतमा उनका असंवैधानिक कदमहरुका विरुद्धमा गरिएको आन्दोलनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताउँदै विगतमा सत्यको पक्षमा लिईएको बाटाहरुलाई विचमा आएर धोका दिएर ओलीकै पाउमा पर्नु राजनैतिक इमानदारीता नहुने भन्दै कठिन र संघर्षमय भएपनि नयाँ पार्टी रोजेको बताउनुभयो । तीनै जना नेताले पार्टीको केन्द्रीय स्तरमा हुने एकताले भविश्यमा एकै ठाउँमा रहनसक्ने सम्भावना देखाउँदै तत्कालको लागि ओली प्रवृतिको शरणमा पर्न नसक्ने भन्दै आफुहरुप्रतिको सदभाव र सहासयदाको लागि अध्यक्ष श्रेष्ठ र सचिब सुवेदीलाई धन्यवाद दिनुभएको थियो ।