कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना, नयाँ कार्यतालिका सार्वजनिक
- २३ भाद्र २०७८, बुधबार
- 1153 पटक पढिएको
सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
यस्तो छ कार्यतालिका
राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका अनुसार आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म कुल १५ दिन सञ्चालन हुने केन्द्रीय तथ्याङ्क विभागले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
तालिकाअनुसार भाद्र २० गतेदेखि २६ गतेसम्म सुपरीवेक्षको नियुक्ति गर्ने, भाद्र २७–२८ गते नयाँ, पुराना सबै सुपरीवेक्षकहरुका लागि तालिम सञ्चालन गर्ने कार्यतालिका छ ।
यस्तै, भाद्र २९ गते ट्यावलेट प्रयोग हुने जिल्ला काठमाडौंका लागि नयाँ नियुक्त हुने सुपरीवेक्षकका लागि तालिमको व्यवस्था गरिने विभागले जनाएको छ । भाद्र ३० देखि आश्विन १८ गतेसम्म घर तथा धर परिवार सूचीकरण गर्ने, कात्तिक ९ देखि ११ सम्म गणकको नियुक्ति गर्ने र कात्तिक १३ देखि १६ सम्म गणकहरुको तालिम सञ्चालन गरिने कार्यसूची छ । तयारीका काम सकेपछि मूल जनगणना कार्य आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।