म्याग्दीमा नेकपा (एकिकृत समाजवादी) पार्टीमा तीनजना जनप्रतिनिधिको सनाखत

  • २२ भाद्र २०७८, मंगलवार
  • 1172 पटक पढिएको

  1. म्याग्दी २२ भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) पार्टीमा म्याग्दीका तीन जना जनप्रतिनिधिले सनाखत गर्नुभएको छ । नयाँ दल दर्ता भएपछि निर्वाचन आयोगले दल रोज्य दिएको समयसिमाको अन्तिम दिन मंगलवार नेकपा एमालेका तीन जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको हो ।
    जिल्ला निर्वाचन कार्यालयका अनुसार, बेनी नगरकार्यपालिका सदस्यद्धय कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र धवलागिरि गाउँकार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत गराउनुभएको छ । कार्की शसक्त महिला नेतृ हुनुहुन्छ भने विश्वकर्मा युवा संघको विभिन्न नेतृत्वमा रहेर पार्टीमा काम गर्दै आउनुभएको थियो । छन्त्याल नेकपा एमाले धवलागिरि गाउँपालिका कमिटिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
    एमालेको जिल्ला कमिटीमा रहनुभएका ६ जना नेता एकिकृत समाजवादीमा खुल्नुभएको छ । एकिकृत समाजवादी पार्टी रोजेर सनाखत गरेपछि आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, नियम र प्रद्धति भन्दा बाहिर रहेर सञ्चालन गरेको र व्यवस्था र संविधान मास्न निरन्तर लागेकाले ओली प्रवृति विरुद्ध विद्रोह गरिएको नेतात्रयले बताउनुभयो ।
    पत्रकार सम्मेलनमा बोल्दै नेता छन्त्यालले ओलीको निरंकुस व्यवहार र कम्युनिष्ट आन्दोलनलाई विघटन गर्ने दुस्प्रयासको कारण पार्टीमा विद्रोह भएको बताउनुभयो । उहाँले आगामी ३० गते पार्टीको जिल्ला भेला आयोजना गरि पार्टीको संगठन विस्तारलाई तिब्रता दिईने बताउनुभयो । पत्रकार सम्मेलनमा नेता विश्वकर्माले ओलीले संविधान, संसद र व्यवस्थामाथि गरेका हमलालाई पार्टीले गम्भिर समिक्षा नगरेको र गलत कदमलाई नै सहि सावित गर्न खोज्ने परिस्थिति निम्तनु दुखदायि रहेको बताउनुभयो ।
    उहाँले नयाँ पार्टीको जग बसाल्ने काम भएको बताउँदै ६ महिनाभित्रमा जिल्लामा पार्टीको भूमिकालाई शसक्त बनाउने गरि संगठन निर्माणमा जुट्ने बताउनुभयो । एकिकृत समाजवादीका नेता चन्द्र लामिछानेले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रुद्र किसानले गर्नुभएको थियो ।