म्याग्दीका मुख्य सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित

  • १४ भाद्र २०७८, सोमबार
  • 1867 पटक पढिएको

म्याग्दी १४ भदौ । निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । मुख्य संगै अन्य ग्रामिण सडकहरु समेत अधिकाँश अवरुद्ध बनेपछि यातायात सेवा अवरुद्ध बनेर जनजिवन प्रभावित बनेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अन्नपूर्ण गाउँपालिका–३ गुइठे, काभ्रेभिर र रुप्से छहरामा खसेको पहिराले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । यस सडकखण्डको रघुगंगा गाउँपालिका–३ राहुघाट गलेश्वरमा समेत पहिरोले निरन्तर सडक अबरुद्ध हुँदै आएको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक बेनपा–४को घुमाउनेभीर र मालिका गापा–६ को बाङ्गेपहिरोमा अवरुद्ध छ । दुवै ठाउँमा पहिरो खसेर २४ किलोमिटर दूरीको यो सडकमा आवतजावत बन्द भएको छ । बेनी नगरपालिका–१ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी–बागलुङ सडक बेनपा–२ भसभसेको पहिराले अवरुद्ध बनेको छ ।

ठाउँठाउँमा खसेको पहिरो, लेदो र हिलोको कारण अबरुद्ध बनेका सडक खुलाउन स्थानीय तह र निर्माण कम्पनीका प्रतिनिधिहरुसंग समन्वय गरिएको भएपनि निरन्तरको बर्षाको कारण कठिनाई आएको प्रहरी निरिक्षक गुरुङ्गले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा आवतजावत, र दैनिक उपभोग्य सामग्री ढुवानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपज निकासीमा समस्या भएको छ ।