पहिरोले थुनिएर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेन

  • ११ भाद्र २०७८, शुक्रबार
  • 1004 पटक पढिएको

म्याग्दी ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेको छैन । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलोमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले रघुगंगा नदी थुनिएर करिब एक किलोमिटर लामो क्षेत्रमा बनेको तलाउको सतह थोरै बढेको स्थानीय युवा प्रदिप पाईजाले जानकारी दिनुभयो ।


चटनले थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेपनि थुनिएर बनेको तलाउको सतह नघटेकाले सम्भावित जोखिम कायमै रहेको उहाँले बताउनुभयो । एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा रहेको उहाँले बताउनुभयो । भिरालो खोलामा तलाउ बनेकाले जुनसुकै समयमा पनि फुट्नसक्ने खतरा रहेको छ । शुक्रवार भएको अविरल बर्षाको कारण खोलामा पानीको सतह बढेसंगै थुनिएर बनेको तलाउको सतह समेत केहि बढेको छ ।

धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका ३ को तिलकेनीमा रघुगंगा नदी कालीगण्डकीमा मिसिन्छ । यसैबिच जिल्ला प्रशासन कार्यालयले नदीको टटीय क्षेत्रमा रहेका बजार र बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
थुनिएको नदीको एक छेउबाट पानी बगीरहेको भएपनि पहिरोको थप जोखिम रहेको र तलाउ फुट्न सक्ने जोखिम रहेकाले रघुगंगा र कालीगण्डकी नदीको तटिय क्षेत्रमा बसोबास र आवत जावत गर्ने नागरिकलाई सतर्कता अपनाउन प्रशासनले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।
तस्बिर सौजन्य प्रदिप पाईजा