धौलागिरी अस्पतालमा चिकित्सकको अभावमा आइसियु सेवा प्रभावित

  • ९ भाद्र २०७८, बुधबार
  • 677 पटक पढिएको

बागलुङ ९ भदाै । बागलुङस्थित धौलागिरी अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सघन उपचार (आइसियु) सेवा प्रभावित भएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा गरेको र त्यस पदमा अर्को चिकित्सक नपठाउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल जनाएको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि झन्डै एक वर्षअघि सो अस्पतालमा तीन आइसियु र दुई भेन्टिलेटरसहितको शय्या सञ्चालन गरेपनि चिकित्सक अभावमा सो सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

“सघन उपचार सेवा सञ्चालनका लागि आवश्यक चिकित्सकको अभाव रहेको छ”, उनले भने, “कोरोना महामारीमा २०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमितका गम्भीर प्रकारका बिरामीकोे आइसियु र भेन्टिलेटरमा उपचार गरिएको थियो ।” सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा प्रनिता राजभण्डारी, सुप्रिया पौडेल, आकाश चित्रकारलगायत पाँच डाक्टरको एकैसाथ सरुवा गरेको थियो । डाक्टरको सरुवापश्चात् अन्य मेडिकल अधिकृतलाई आइसियुको जिम्मेवारी दिएर सञ्चालनमा ल्याए पनि हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि सो सेवा बन्द हुने अवस्थामा पुगेको मेसु पोखरेलको भनाइ छ ।

“करारका मेडिकल अधिकृतको करार अवधी सकिएपछि जानु भो, केहीको मन्त्रालयले सरुवा ग¥यो, आइसियु सञ्चालनका लागि मेडिकल अधिकृत आवश्यक भएपनि अहिले न्यून मेडिकल अधिकृतले काम चलाइएको छ, म डाक्टर ल्याउन पहल स्वरुप काठमाण्डौं र पोखरा धाइरहेको छु, सुनुवाई कतैबाट भएको छैन, तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आइसियू सेवा बन्द गर्नुपर्ने अवस्था आउनेछ”, उनले भने।

कोरोना महामारीमा अस्पतालको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको भए पनि पछिल्लो समय चिकित्सकको अभाव हुन थालेको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका बाबजुद पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक छैनन् भने करारका मेडिकल अधिकृतको समेत करार अवधि सकिँदा समस्यामा परेको र यसको प्रत्यक्ष असर आइसियु कक्षलाई परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए।

कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पताल पुनः चिकित्सक अभावको मारमा परेको छ। सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव हुनु दुर्भाग्य भएको सेवाग्राही बताउँछन्। सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विक पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ डाक्टर नरहेको अस्पतालले जनाएको छ। अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर करारमा कार्यरत भए पनि छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जना मात्रै अस्पतालमा कार्यरत छन्। करारका १५ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै मेडिकल अधिकृत कार्यरत रहँदा अस्पतालको सेवा प्रभावित बनेको छ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले तत्काल डाक्टर पठाउने अस्पताल निरीक्षणका क्रममा जनाए पनि हालसम्म डाक्टर नआउँदा कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक आइसियु सेवा बन्द हुने अवस्थामा पुगेको हो। आइसियु कक्षका लागि स्टाफ नर्स पर्याप्त भए पनि मेडिकल अधिकृत नुहँदा आइसियु चलाउन सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ। कोरोनाका जटिल बिरामीलाई आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने भएपछि सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले झण्डै रु डेढ करोडको लगानीमा आइसियु सेवा विस्तार गरेको थियो ।