दुधेखोलामा बाढी : एक घर बगायो, खानेपानी, विद्यूत र सडक अवरुद्ध

  • ७ भाद्र २०७८, सोमबार
  • 1128 पटक पढिएको

म्याग्दी, ७ भदौ । म्याग्दीको बेनी नगरपालिका– ३ स्थित दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ । बाढीले बस्तीनै जोखिममा पारेको छ । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती १२ बजे आएको बाढीले बाढीले घरमा रहेका लत्ता कपडा,खाद्यान्न र पशु चौपायाँ समेत बगाएको थियो । स्थानीय नारायण पुनको एउटा दुहुनो भैंसी खोलामा मृत अवस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिए पछि क्षति भएको बेनी नगरपालिका ३ का वडासदस्य तथा स्थानीयवासी गेमबहादुर घर्ती मगरले बताए । उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र दिल्लीराम थापाको घर वस्नै नसकिने गरी उच्च जोखिममा छन् । बाढीले सडक, विद्युत, खानेपानी, सिचाई लगायतको पुर्वाधारमा क्ष्ाित पु¥याएको छ ।

घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घर परिवारको बसोबास रहेको छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण ३० घरपरिवार उच्च जोखिममा रहेको वडासदस्य घर्तिमगरले बताए । बाढीका कारण मंगला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ । खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत सेवा पनि अवरुद्ध भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुन सकेको छैन ।

दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साघुरो बनाइदिएको छ ।स्थानीयवासीहरुले जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ ।
जिसस प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले लगायतका जनप्रतिनिधिहरुले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । लायन्स क्लव बेनी पिस सिटि लगायतले घर बगाएको परिवारलाई राहत उपलब्ध गराएका छन् ।