रिखारमा स्वास्थ्य सावधानी अपनाएर जनैपूर्णिमा पुजा हुने

  • ३ भाद्र २०७८, बिहीबार
  • 1376 पटक पढिएको

बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारमा जनैपूर्णिमाको अवसरमा हुने पुजालाई स्वास्थ्य मापदण्डको पालना गरि निरन्तरा दिईने भएको छ । कोरोना महामारीको कारण अघिल्लो बर्षको पुजा प्रभावित भएपनि यस बर्ष भने स्वास्थ्य सावधानीलाई अपनाएर पुजालाई निरन्तरता गर्ने निर्णय भएको हो । रिखार संरक्षण समितिको बैठकले भदौ ६ गते परेको जनैपूर्णिमा पर्वको अवसरमा पुजा खुला गर्ने निर्णय गरेको स्थानीय सप्तऋषि रिखार युवा क्लबका संरक्षक अंकित पुनले जानकारी दिनुभयो ।


उहाँले पुजा गर्न आउने भक्तजनहरुलाई कोरोना महामारीको कारण मास्क लगायतका स्वास्थ्य मापदण्डको पालना गर्न समेत अनुरोध गरिएको बताउनुभयो । धौलागिरि हिमालको फेदीमा अवस्थित रिखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ जनैपूर्णिमाको अवसरमा विशेष पुजा हुने गर्छ । जनैपूर्णिमाका दिन विशेष पुजा हुने यस मन्दिरमा आफुले आँटेको र चाहेको कुरा पुरा गराउनको लागि भाकल गर्न म्याग्दीको साथै अन्य क्षेत्रबाट समेत भक्तजनहरु पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हुदै दुई दिनको पैदलयात्रापछि रिखार पुग्न सकिन्छ । यहाँ पुग्ने भक्तजन र पर्यटकहरुलाई पात्लेखर्क, बगरखोला र ऋखारमा तिर्थबास भवन बनाईएको छ । अग्लो पहाडको टुप्पोमा रहेको तलाउ माथि डुंगा आकारको ढुंगामाथि रहेको रिखारमा सप्तऋर्षि कश्यप, भरद्धाज, गौतम, जमदग्नी, बरिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।