एमाले विभाजन , नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ता

  • २ भाद्र २०७८, बुधबार
  • 1235 पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएकाे छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपछि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको बताए । नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।  सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।

अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।  राताेपाटीबाट साभार ।