रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए

  • २ असार २०७८, बुधबार
  • 960 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी दिए ।

विद्युतगृहका साथै नहर र मुहानमा पनि क्षति पुर्‍याएको छ । परियोजना बन्दा हुदाँ रुमका २५५ घरधुरी विद्युत सुबिधाबाट बञ्चित भएका छन् । पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलविद्युत परियोजनाका प्राविधिक बस्ने टेकबहादुर बिकको दुईतले घर बगाएको छ । बेलीमा छेमबहादुर बिकको दुईतले घर र एकवटा गोरुसहित गोठ बगाएको छ । रनबहादुर दर्जीको घर पहिरोले पुरिएको छ ।

सोही वडाको खवाङमा मुक्ति बुढाथोकी, लक्ष्मी बुढाथोकी, रिमानसिंह पुन, हत्नेपाखामा भुमिला विकको घर पहिरोले पुरेको छ । कलातमा रैमति विकको एक तले घर पुरेको छ । तल्लो खवाङको पाखो भत्किएर बिलबाङमा करिव २० घरलाई जोखिम बनाएको छ ।

वडा कार्यालय पछाडीको पहिरोले लुक्सीर, बेली, खवाङ र हुत्नेपाखा लगायतका ठाउँमा करिव २५ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहेका आफन्तकोमा आश्रय लिएर बसेका वडाअध्यक्ष नरबहादुर पुनले बताए ।