म्याग्दी जेसीजद्धारा भर्चुअल माध्ययमबाट कोरोना रोकथामको अवस्थाबारे अन्तक्र्रिया
- १३ जेष्ठ २०७८, बिहीबार
- 930 पटक पढिएको
म्याग्दी १२ जेठ । म्याग्दीमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि सरकारी निकाय, स्थानीय तह, सरोकारवाला लगायतको भूमिका रचनात्मक रहेकोमा जोड दिईएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमको अबस्था र रोकथाम तथा नियनत्रणको बिषयमा म्याग्दी जेसीले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘कोभिड–१९ र म्याग्दीको अबस्था’ बिषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
सहभागीहरुले कोरोना माहामारीसंग जुध्नका लागि म्याग्दीमा सरकारी तवरसंगै सरोकारवाला र समुदाय स्तरबाट समेत रचनात्मक साथ र सहकार्य भएकोमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले म्याग्दीमा दोस्रो लहरको कोरोना संक्रमण समुदाय स्तरमा फैलनुमा विवाह र साँस्कृतिक कार्यका भोज, मृत्युसंस्कारका भिडभाड लगायत मुख्य कारणहरु रहेको बताउँदै रोकथाम र नियन्त्रणको लागि लकडाउन गरिएको बताउनुभयो ।
उहाँले स्थानीय तहको सिफारिसमा जिल्लामा लकडाउन गरिएको जानकारी गराउँदै कोरोनाको चेनब्रेक गर्नका लागि जारी लकडाउनलाई प्रभाबकारी कार्यान्वयन गर्ने, जनस्वाथ्यका मापदण्डलाई पालना गर्ने, दुरी कायम गर्ने कुराहरुलाई पालना गर्न जिल्लाबासीलाई आह्वान समेत गर्नुभयो । उहाँले संक्रमितको कन्ट्याक ट्रेसिङ र टेस्टीङ ( परिक्षण) मा स्थानीय तहहरुले महत्वपूर्ण भुमिका खेलेको र उपचार लगायतको क्षेत्रमा सरोकारवालाहरुबिच रचनात्मक सहकार्य भइरहेको बताउँदै स्वयमसेवामा राजनीतिलाई नमिसाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा कोरोना संक्रमित सैगै अन्य सबै प्रकारका विरामीहरुको उपचारलाई मध्यनजर गरी हेलो डाक्टर सेवा समेत दिईरहेको बताउँदै कोरोना संक्रमित विरामीको उपचारमा सबै स्रोत, साधन र जनशक्ति परिचालन गरिएको बताउनुभयो । कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले कोरोना संक्रमित विरामीहरुलाई समयमै अस्पतालमा नल्याउँदा विरामी सिकिस्त विरामी भएपछि मात्रै उपचारका लागि ल्याउँदा जोखिम बढेको बताउँदै विरामीहरुको स्वास्थ्यमा समस्या देखिएका स्वास्थ्यकर्मी र अस्पतालको सम्पर्कमा पुग्न आग्रह गर्नुभयो ।
उहाँले बेनी अस्पतालमा ४ बेडको आइसोलेसनबाट सुरु गरिएको कोरोना संक्रमितको उपचारका लागि अहिले ३५ देखि ४० जना क्षमतासम्म उपचार गर्ने अक्सिजन सहितको पूर्वाधार तयार भएको जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जिल्लाको सदरमुकाम बेनीमा संक्रमणदर कम भएपनि ग्रामीण र दुर्गम बस्तीहरुमा कोरोना संक्रमण थप फैलिँदै गएकाले आबश्यक सतर्कतालाई थप प्रभाबकारी बनाउनुपर्ने आबश्यकता रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवत्ता रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले समेत कोरोना संक्रमणको अबस्था, चुनौति र नियन्त्रणका लागि भएका प्रयासहरुको प्रभाबकारिताको सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, मुल संयोजक सन्दिप खत्रीको स्वागत र कार्यक्रम संयोजक कुमार बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा क्रियाशिल म्याग्दी जेसीजको २३ औँ स्थापना दिवसको अवसरमा ‘जेसीज सप्ताह –२०२१ अन्तर्गत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । सप्ताहको अवसरमा म, मास्क र म्यासेज’ र नेपाल जेसीजमा महिला नेतृत्व ः हिजो, आज र भोली बिषयक कार्यक्रम सम्पन्न भैसकेको छ । त्यसैगरि, तस्बिरमा म्याग्दी, स्वास्थ्य सामाग्री हस्तान्तरण, शेयरबजार शिक्षा र जेसीजमा हामी लगायतका कार्यक्रमहरु समावेश गरिएको जेसीजले जनाएको छ ।