रघुगंगामा स्वास्थ्य चौकीका कर्मचारीलाई कोभिड अस्पतालमा परिचालन
- १ जेष्ठ २०७८, शनिबार
- 973 पटक पढिएको
म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि वडा स्तरमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पतालतर्फ व्यवस्थापन गर्न थालेको छ । कोरोनाका संक्रमित बढेसंगै वडा नम्बर ३ पिप्लेमा रहेको कोभिड अस्पतालमा आबश्यक पर्ने स्वास्थ्यकर्मीहरु गाउँपालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थाबाट काजमा खटाउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोभिड अस्पतालमा १ जना डाक्टर, २ जना स्टाफ नर्स सहित ४ जना अनमी परिचालन गरिएको छ । झिँ, पाखापानी, भगवती र बेगबाट एक÷एक जना अनमी काजमा ल्याएर खटाईएको हो । अस्पतालमा शनिवार ९ जना संक्रमित भर्ना भएर उपचार गराईरहेका छन् । कोभिड अस्पतालमा १५ बेड क्षमताको बनाईएको छ । थप पाँच बेड क्षमता विस्तारको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालमा विरामीलाई आबश्यकता अनुसार अक्सिजन लगाएर उपचार गर्न सकिने प्रवन्ध मिलाईएको छ । यस गाउँपालिकामा शनिवार मात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् । अधिकाँश संक्रमित राखु क्षेत्रकै रहेका छन् ।