पुननिर्माण भएको धरहरा प्रधानमन्त्रीद्धारा उद्घाटन
- ११ बैशाख २०७८, शनिबार
- 1544 पटक पढिएको
काठमाण्डौ ११ वैशाख । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । धरहराको उद्घाटन गर्दै प्रम ओलीले इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको बताए ।
भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई कायमै राखेर नयाँ बनाइएको छ । बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि सर्वसाधारणका लागि यो तत्काल खुला हुनेछैन ।
धराहरा बनेपनि अरु संरचना निर्माण भइरहेकाले सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण भइरहेको छ ।