अन्नपुर्ण आरोही पत्रकार पुर्णिमा श्रेष्ठको टोलीलाई सम्मान
- ६ बैशाख २०७८, सोमबार
- 1350 पटक पढिएको
म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाउनुभएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते श्रेष्ठसहित ६ जना नेपाली महिलाहरुले हिमालको सफल आरोहण गर्नुभएको थियो ।
किर्तिमानी बनाउन सफल पत्रकार श्रेष्ठसहितको टोलीलाई नेपाल पत्रकार महासंघ म्याग्दीले स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा महिला आरोही श्रेष्ठसहित पदप्रर्दशक पेम्वा शेर्पा, अर्का आरोही पोल्याण्ड नागरिक यारो लगायतलाई महासंघका अध्यक्ष प्रकाश पौडेलले खादा लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै आरोही पत्रकार श्रेष्ठले दुईबर्षको योजना एक महिनाको निरन्तर प्रयाशबाट हिमाल आरोहण सफल भएको बताउनुभयो । उहाँले ईच्छाशक्ति र आत्मविश्वास सफलताको पहिलो सुचक रहेको बताउदै महिलाहरुपनि संघर्ष गर्न सक्षम छन् भन्ने पुष्टि गर्न जोखिम कदमलाई उचालेको बताउनुभयो ।
पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, माया शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पासहित ६ जना महिलाले एकैदिन सफल आरोहण गनुभएको थियो । यस अघि अन्नपुर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।
महासंघका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो । यसैविच कित्र्तिमानी बनाउन सफल महिला आरोहीहरुको टोलीलाई अन्नपुर्ण गाउँपालिका, नारच्याङका युवा क्लव, आमासमुह, विद्यालय र स्थानीयबासीले समेत सम्मान गरेका थिए ।
