चिमखोलामा रमाईलो टोपा नाच प्रदर्शन (भिडियाे सहित)
- १५ चैत्र २०७७, आईतवार
- 1991 पटक पढिएको
म्याग्दी, १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएकाे छ। भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा टोलबाट महिलाहरुले टोपा नाच निकाल्ने गर्छन् ।
गाउँको शिरमा रहेको मण्डली बजैको थानमा मनोकामना पुरा हुने जनविश्वासले जिल्लाको विभिन्न क्षेत्रबाट सयौँको सख्ंयामा भक्तजनहरु पुग्ने गरेका छन् । पुजा र भाकल पुरा गर्न चिमखोला पुगेका भक्तजनहरु मौलिक र परम्परागत कला संस्कृतिको अवलोकनबाट लोभिएर फर्कने गरेका छन् ।
भुमे पुजा गर्नुभन्दा ठिक एक महिना अगाडी गाउँसभाबाटै भुमेको लागि छ्याङ बनाउन जाँड राख्नका लागि हरेक टोलबाट २÷२ जना (महिला) छेमा चयन गर्ने र उनीहरुले भुमे पुजाको दिन उक्त छ्याङ प्रसादको रुपमा गाउँलेहरुलाई खुवाउने गरिएको वडा अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । भुमे पुजा पश्चात लोपउन्मुख बनेको सेदो गित गाउँदै गाउँ फर्किएपछि छेमाहरुको सहभागीतामा स्थानीयले दोस्रो दिन टोपा नाच प्रदर्शन गर्ने चलन रहेको अग्रज कलाकार ल बहादुर पुनले बताउनुभयो ।
‘‘ छेमाहरुले छ्याङ खुवाएपछि भुमेलाई खुसी बनाउन युवायुवतीहरु एक आपसमा छ्याङको छोक्रा र खाना पकाउँदा आएको मोसो दलेर रमाईलो गर्छन्, चुलो घुमेपछि सेदो गितमा नाचगान गर्दै गाउँ फर्किने गछौँ, उहाँले भन्नुभयो –‘‘यसै अवसरमा ऐतिहाँसिक टोपा नाच देखाउने चलन छ’’ । भुमे पुजाको अवसरमा देखाईने नाच र गाईने भाकाहरुमा दरदेउताहरुलाई पुकार्ने र सम्भावित प्राकृतिक प्रकोपबाट मुक्ति माग्ने चलन रहेको छ ।
परम्परागत रुपमा देउताहरुलाई खुसी बनाउने र स्थानीयलाई मनोरञ्जनको लागि भुमे पुजाको अवसरमा टोपा नाच, जुरेचल्ला र सर्मजाले र कलस जुधाउने देखाउनुको साथै सेदो र साईला तथा यानीमायाँ भाकामा गितहरु गाउने गरिएको चिमखोलाका स्थानीय ध्रुवकुमार पाईजाले बताउनुभयो । हरेक टोलबाट नौमती बाजा सहित साँइलो, भैच साईलो र यानीमायाँ भाकामा नागगान सहित गाउँ परिक्रममा पश्चात खेलमैदानमा पुगेर उक्त टोपा नाचलाई प्रदर्शन गरिन्छ । सो अवसरमा उक्त नाच अवलोकनको लागि पुग्ने गाउँका अगुवाहरुले आमा समुहको उत्थानको लागि नगद सहयोग गर्छन ।
युवायुवती देखि पौढ र बृद्धबृद्धा सम्मका व्यक्तिहरुले सहभागीता जनाउने यस्ता परम्परागत नाचहरुमा स्थानीय मौलीक रहनसहनहरुलाई प्रदर्शन गरिन्छ ।