जेसीज कपको रौनकः प्रतियोगिताको पूर्वसन्ध्यामा मूल ट्रफि प्रदर्शन

  • ४ मंसिर २०७६, बुधबार
  • 2327 पटक पढिएको

म्याग्दी ४ मंसीर । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा जिल्लाका विभिन्न विद्यालयहरुमा रनिङ्ग ट्रफिको प्रदशर्न गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिए । गत कार्तिक २९ गते जिल्लाको पश्चिमी क्षेत्र दरबाङ, बावियाचौर र सिंगामा रहेका विद्यालयहरुमा मूख्य रनिङ्ग ट्रफि प्रदर्शन गरिएको थियो ।

विद्यार्थीहरुको हौसला बृद्धि गर्नका लागि विद्यालयहरुलाई औपचारिक निमन्त्रणा गर्नका लागि ट्रफि यात्रा गरिएको म्याग्दी जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष जेसी खम थापा मगरले बताए । त्यसैगरी मंसिर ४ गते सदरमुकाम बेनीबजारका विद्यालयहरुमा समेत उक्त ट्रफि प्रदर्शन गरिएको थियो । ट्रफि यात्राको क्रममा जेसीज कपलाई अझै व्यवस्थापन गर्न, नयाँ ढंगले अगाडि बढाउन विभिन्न विद्यालयहरुबाट सुझाव प्राप्त भएको मूल संयोजक हरि भण्डारीले बताए ।

बन्धुत्वका लागि जेसीज कप फुटबल भन्ने नारा सहित आयोजना गरिएको फुटबल प्रतियोगितालाई प्रतियोगिताको रुपमा समेत नलिई बन्धुत्वको विकास गराउने उद्देश्ले यात्राको क्रममा विद्यालयहरुलाई बल समेत उपहारको रुपमा प्रदान गरिएको थियो । यात्रामा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनय श्रेष्ठ, मूल संयोजक हरी भण्डारी लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


म्याग्दी जिल्लामा वल्र्ड कपको रुपमा चिनिने जेसीज कप फुटबलले विद्यालय स्तरका प्रतिभाहरुलाई प्रष्फुटनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । जेसीज कफ फुटबलकै निमित्त विभिन्न विद्यालयहरुले झन्डै २ महिना अगाडिबाट समेत अभ्यास गर्दै आईरहेका छन् । विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारीएको आयोजकले जनाएको छ । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर बेनी, मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष बेनी म्याग्दी, प्रायोजक रारा हार्डवयर बेनी म्याग्दी र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेका छन् ।