सुशासन र विकास पत्रकारिता तालिम

  • २३ बैशाख २०७६, सोमबार
  • 2089 पटक पढिएको

 

जोमसोम २३ बैशाख । मुस्ताङको जोमसोममा सुशासन र विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

अस्टे«लीयन राजदुतावासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको समन्वयमा सञ्चालित तालिमको बरिष्ठ पत्रकार रामकृष्ण रेग्मी र श्रीरामसीङ बस्नेतले सहजिकरण गरेका थिए । तालिमको उद्घाटन गर्दै नेपालका लागि अस्टे«लीयाका राजदुत पिरट बोडेले सुशासनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।


‘पत्रकारिताले सरकारलाई जवाफदेही बनाउँछ । जनताको चाहना र भावना मुखरित बनाउनुपर्छ,’ राजदुत बोडेले भने ‘निजी र सरकारी क्षेत्रमा सुशासन बढावा गर्न पत्रकारिताले महत्वपूर्ण जिम्मेवारी निभाउनुपर्छ ।’

नेपाल नयाँ व्यवस्था र शासकीय स्वरुपको अभ्यासमा रहेको बताउदै राजदुत बोडेले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारको टकराव न्युनीकरणमा जोड दिए ।

बरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सुशासन बिना सम्बृद्धी सम्भव नभएको बताउँदै सुशासनलाई महत्व दिनुपर्ने बताए । अर्का प्रशिक्षक श्रीरामसीङ बस्नेतले पत्रकारिता क्षेत्रले सुशासनलाई महत्व दिएर कुशासन हटाउन सक्रिय बन्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले पत्रकारिताको गुणस्तर बढाउन र विश्वसनीयता कायम राख्न पत्रकारहरुको क्षमता विकासका लागि तालिम उपयोगी हुने बताए ।

राष्ट्रिय सञ्चार विकास केन्द्रका अध्यक्ष बिष्णु शर्मा पराजुलीले संस्था मार्फत नेपालका ७३ जिल्लामा पत्रकारिता तालिम सञ्चालन गरेर नयाँ पत्रकारिता उत्पादन तथा कार्यरत पत्रकारहरुको क्षमता विकासमा सहयोग पु¥याएको बताए श्र

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षता र सुनिल नेपालीको सञ्चालनमा तालिम समापन गरिएको थियो ।