पर्वत बेनी र मल्लाजमा पनि सहकारी दिवस मनाइयो

  • २० चैत्र २०७५, बुधबार
  • 1995 पटक पढिएको

 

बेनी २० चैत । जलजला गाउँपालिकाको पर्वत बेनी र मल्लाजमा पनि बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।पर्वत बेनीको नवकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बगरफाँट, लामाखेत र मिलनचोकका अन्य दश भन्दा बढी सहकारी संस्थाहरुको सहआयोजनामा संयुक्त रुपमा दिवस मनाइएको हो ।

सहकारीका सञ्चालक र कर्मचारीहरुको ¥यालीले पर्वतबेनी बजार परिक्रमा गरेर नवकालीगण्डकी आमा समूहको भवन परिसरमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल जलजला ४ लामाखेत बस्ने दृष्टिविहीन जलन र सुस्मीता विकको परिवारलाई संयुक्त रुपमा २५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

नवकालीगण्डकीका अध्यक्ष डिलबहादुर बरुवालको अध्यक्षता, मल्लाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविन जिसीको सञ्चालन, लुङ्दी जलजला सहकारी मिलनचोकका अध्यक्ष राजुप्रसाद आचार्यको स्वागत मन्तब्य र राष्ट्रिय सहकारी संघका सदस्य चण्डीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

जलजला गाउँपालिका ३ मल्लाजमा रहेका सहकारी संघ संस्थाहरुले पनि संयुक्त रुपमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाएका छन् । सो अवसरमा जलजला २ की बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारको लागि संयुक्त रुपमा छ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

साना किसान कृषि सहकारीका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ता लामिछानेको सञ्चालन र नव सिर्जनशिल कृषि सहकारी संस्थाका टेकबहादुर जिसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको सनिता कार्कीले जानकारी दिए ।

कार्यक्रममा मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारी, साना किसान सहकारी संस्थाका डम्मर घर्ती क्षेत्री, मल्लाज भुतपूर्व सैनिक बहुउद्देश्यिय सहकारीका यामबहादुर जिसी, नयाँ कृषि अभियान सहकारीका राम थापा, जलजला ३ का वडा सदस्य शशी शर्मा आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए । सहकारीकर्मीहरुले मल्लाजका विभिन्न सार्वजनिक स्थलको सरसफाई पनि गरेका थिए ।