अक्षयकोषका लागि सहयोग जुटाउन हङकङमा अभियान

  • १३ फाल्गुन २०७५, सोमबार
  • सन्ताेष गाैतम
  • 1791 पटक पढिएको

बेनी १३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि आइतबार हङहङमा कार्यक्रम गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा करिब चालीस लाख रुपैयाँ सहयोगको प्रतिवद्धता घोषणा भएको छ ।

दुई लाख रुपैयाँ सहयोग गरेर ११ जनाले संरक्षक सदस्यता लिएका अभियानका लागि हङकङ पुगेका कोषका सचिव लोक पुनमगरले जानकारी दिए । संरक्षक सदस्यता लिनेहरुमा मोनाका संस्थापक प्रकाश पुन, मोना हङकङका बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगर, अध्यक्ष कर्ण पुन, कोषाध्यक्ष नारायणसिङ पुन, सचिव जेबेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, संरक्षक इञ्जिनियर हर्कमान मगर र कार्यसमिति सदस्य लील रोका रहेका छन् ।

कार्यक्रममा ३१ लख ३५ हजार रुपैयाँ जुटेपनि त्यसलाई बढाएर चालीस लाख पु¥याउने मोना हङकङका पदाधीकारीहरुले बताएका छन् । कार्यक्रममा ओमकुमारी शान्ति कोषले गरेका गतिबिधि, उद्देश्य र योजनाको बारेमा संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी गराएका थिए । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ ।

हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो । शान्तिको उपचार र कोषको ब्याजबाट भएको १६ लाख १९ हजार १०५ रुपैयाँ सहित अभियान सञ्चालन गरेर आर्थिक वर्ष २०७४÷७५ सम्म उक्त संख्याका बिरामीलाई सहयोग गरिएको हो । शान्तिको उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको १३ लाख ७८ हजार रुपैयाँबाट सुरु भएको कोषमा यसअघि स्वदेश तथा बिदेशबाट ६२ लाख रुपैयाँ नगद संकलन भएको छ ।

मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ । तीन लाख रुपैयाँ भन्दा बढी सहयोग गरेर छ वटा संस्था र यसअघि दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेर १८ जना व्यक्तिले संरक्षक सदस्यता लिनुभएको थियो । पाँच हजार ५०० रुपैयाँ तिरेर आजिवन सदस्यता लिन सकिन्छ । जन्मदिन, बिवाह, छेवार, ब्रतबन्ध जस्ता अवसरमा विभिन्न व्यक्तिहरुले फजुल खर्च कटाएर कोषलाई सहयोग गर्ने लहर चलेको छ ।

कोषका अलावा बिरामीको नाममा अभियान सञ्चालन गरेर पनि आर्थिक सहयोग जुटाएर औषधी उपचारमा सहयोग गरिएको छ । प्रवासी नेपाली म्याग्देली संघ (मोना)को कतार, नेडरल्याड, फ्रान्स, बेल्जीयम र बेनीको कस्तुरी बहुउद्देश्यिय सहकारी संस्थाले संरक्षक सदस्यता लिएका छन् । म्याग्दी उद्दार समिति बहराइन पनि संरक्षक सदस्य बनेको छ ।
कोषले सहयोगदाता र अभियानका क्रममा संकलित तथा खर्च भएको रकमको विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत सार्वजनिक गर्दै आएको छ । संस्थाका पदाधीकारी तथा सदस्यहरुले संस्थाको कार्यक्रम र अभियानका लागि व्यक्तिगत रुपमै खर्च व्यवस्थापन गर्ने गरेका छन् ।

 

सन्ताेष गाैतम