दरवाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2240 पटक पढिएको

सन्तोष गौतम
दरवाङ ३ फागुन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकास मार्फत प्रदेश र राष्ट्रलाई चिनाउने तथा पर्यटनको विकास गर्ने योजना अघि सारिएको बताउनुभयो ।

मन्त्री पुनले मुस्ताङमा उच्च हिमाली खेल प्रशिक्षण केन्द्र, अन्तराष्ट्रिय स्तरको खेलमैदान र सबै स्थानीयतहहरुसँग समन्वय गरेर खेलमैदान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । खेलकुदको विकासका लागि पूर्वाधारमा जोड दिएको मन्त्री पुनको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बेनी–दरवाङ सडकको बेनी देखि १२ किलोमिटर सडक कालोपत्रेको लागि योजना सुरु भएको र बाबियाचौर देखि दरवाङ खण्डको कालोपत्रेका लागि डिपीआर तयार पार्न लागिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अनुशासन, स्वास्थ्य र राष्ट्रलाई चिनाउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्थानीय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पुग्ने अवसर यो प्रतियोगिताले दिलाउने बताउनुभयो ।

अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष खरमाया बिटालुको स्वागत र जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतियोगिता संयोजक तथा दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिकामा रहेका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी बिधाका खेलमा प्रतिस्पर्धा गराइने गाउँपालिकाको शिक्षा शाखाका संयोजक तेजप्रसाद लामिछानेले बताउनुभयो ।

प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित क्रमश पचास हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । भलिबल, कवड्डी र एथलेटिक्समा प्रथम, दितृय र तृतीय हुने विद्यालयलाई पनी दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्माले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाइएको १५०० मिटरको दौडको छात्रतर्फ जनप्रिय माविका पेम सिर्पाली प्रथम, भिम माविका सुजन घर्ती दृतीय र केवी एकेडेमीका विश्वास पुन तृतीय भएका छन् । यसैगरी १५०० मिटर छात्रा दौडमा भिम माविकी बिमला फगामी प्रथम, केवी एकेडेमीकी बिमला फगामी दृतीय र सिद्धार्थ मावि च्युरीबोटकी रोजिना थापामगर तृतीय भएका छन् ।