टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा
- ९ मंसिर २०७५, आईतवार
- 1835 पटक पढिएको
बेनी ९ मङसिर । जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् ।गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् । केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको टौवामा आगोलागी भएको घटना सेलाउन नपाउँदै शनिबार राती साढे ९ बजे लुङदीका रवी खत्रीको टौवामा आगोलागी भएको वडा अध्यक्ष भिष्म मल्लले बताए ।
आगोलागीबाट मल्लको टौवामा रहेको करिब ९० बिटा पराल जलेर नष्ट भएको छ । यसअघि मल्लको टौवामा आगोलागी हुँदा करिब २० बिटा पराल जलेर नष्ट भएको थियो । उच्छीङ्खल गतिबिधि गर्ने, कृषकलाई दुख दिने र सताउने नियतले टौवामा आगजनी गरेको देखिएपछि त्यस्ता व्यक्तिहरुको प्रहरीको सहयोगमा खोजी र अनुसन्धानलाई तिब्रता दिएको वडा अध्यक्ष जानकारी दिए ।