निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताका लागि तालीम सुरु

  • २४ चैत्र २०७३, बिहीबार
  • 2193 पटक पढिएको

म्याग्दी, २४ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बिहीबारदेखि निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको छ ।     २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक र छनौटमा परेका बालविकास सहयोगी कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको हो ।     तिन चरणमा दुई दिनका दरले एक सय जना भन्दा बढी कर्याकर्ताहरुलाई तालीम दिइने कार्यालयले जनाएको छ । स्थानीय विकास अधिकारी प्रेमराज गिरी, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, सुरक्षा अधिकारीको उपस्थितीमा तालीमको उद्घाटन गरिएको थियो ।  

तालीम लिएपछि उनिहरुले मतदाताको घरघरमा पुगेर स्थानीय तह निर्वाचनको महत्व, मतदान गर्ने तरीका, मतदाताको भुमिका, आचार संहिता, मतपत्र बदर हुन नदिन अपनाउनुपर्ने साबधानीको विषयमा जानकारी गराउने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।    तालीमको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत प्रकाश रेग्मी, शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटा र प्रकाश माविकी शिक्षीका सरला सुवेदीले सहजिकरण गर्नुहुने जनाइएको छ ।

७२ वटा मतदान स्थल सिफारीस भएको र आयोगले मतदान केन्द्रको संख्या टुङ्ग्याउन बाँकी रहेको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो । एक नगरपालीका र पाँच वटा गाउँपालीकामा रहेको म्याग्दीमा ४७ वटा वडा छन् । म्याग्दीमा ३७ हजार ६७२ जना महिला, ३३ हजार ७६० जना पुरुष र एक जना तेस्रो लिङ्गी गरी ७१ ह्जार ४६३ जना मतदाता रहेका छन् । ४७ वटा वडा रहेको म्याग्दीमा आगामी स्थानीय तह निर्वाचनबाट २४७ जना जनप्रतिनिधि निर्वाचीत हुने भएका छन् । स्थानीय तहको निर्वाचनका लागि १२ वटा राजनितिक दल दर्ता भएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्ना गरेर तालीम सुरु गरेका छ ।