माईनडाडामा सडक सुधारको काम सुरु

  • ११ आश्विन २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2459 पटक पढिएको

बेनी ८ असोज । बेनी–मल्लाज–लेकफाँट ग्रामिण मोटरबाटो अन्तरगत जलजला गाउँपालिका ४ स्थित माईन डाँडामा सडक सुधारको काम सुरु भएको छ ।जलजला गाउँपालिकाले बेनी–मल्लाज सडकको सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिएको माईनडाँडाको उकालो सडकमा ग्रेड सुधारको काम सुरु गरेको हो । गाउँपालिकाले बिनियोजन गरेको बिस लाख रुपैया बजेटबाट उकालो अवस्थामा रहेको सडकको सतह घटाउने काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर खत्रीले बताए ।

डेढ सय मिटर उकालो सडकलाई डेढ मिटर सतह घटाएर सहज रुपमा सवारी सञ्चालन गर्न सकिने बनाउन लागिएको खत्रीले बताउनुभयो । ‘डेढ मिटर सतह घटाएपछि बस र ट्याक्सी सञ्चालन गर्न सकिन्छ’ खत्रीले भने । हाल ठाडो उकालो अवस्थामा रहेको उक्त सडकमा जोखिम मोलेर सवारी साधन सञ्चालन हुदै आएको छ ।
कडा चट्टानी पहाड काटेर करिब एक दशकको प्रयासमा उक्त स्थानमा सडकको ट्याक खोलीएको थियो । सो स्थानमा जिप, ट्याक्टर र मोटरसाईकल मात्र सञ्चालन हुने गरेका छन् । बेनीबाट मल्लाजतर्फ जाँदा उकालो र मल्लाजबाट बेनीतर्फ आउँदा ठाडो ओलारो पर्ने भएकाले दुर्घटनाको उच्च जोखिम रहेको छ ।

सतह घटाउनुका साथै सडकलाई फराकीलो पनि बनाइने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको थप बिस लाख रुपैयाबाट घुम्तीको मोड सुधार गर्ने तयारी भएको छ । माईनडाँडामा सुधार गरेपछि बेनी–मल्लाज–लेकफाँट सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न सकिने जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।
सात वर्ष लगाएर वि.स २०७१ असोजमा ट्याक खुलेको सडक वि.स २०७४ मा स्तरवृद्धी गरेपछि यातायातका साधन सञ्चालन हुन थालेका थिए । यो सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तिस मिनेटमा छोटिएको जलजला ३ का वडा अध्यक्ष रवी भण्डारीले बताए । जलजला गाउँपालीकाको १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई बेनी आवत जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

जिल्ला फरक भएपनि पर्वतको माझफाँट, बाँसखर्क, लेकफाँटका बासिन्दा नजिक पर्ने भएकाले प्रशासनिक बाहेक सबै कामका लागि म्याग्दीको बेनीमा निर्भर छन् । मल्लाजका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आउन जान समेत सहज भएको छ । पहिले सडक घुमाउरो भएकाले धेरै जसो मल्लाजका बासिन्दा बेनी मल्लाज यात्रा पैदलबाटै गर्दथे । सडकबाट स्थानीय बासिन्दाले प्रभावकारी सुबिधा पाउन सकेका थिएनन् ।

माईनडाँडाको सडक सुधार भएपछि बस चढेर यात्रा गर्ने मल्लाज बासीको बर्षौदेखिको सपना पुरा हुने भएको छ । सडक डिभिजन कार्यालय बागलुङले वि.स २०७२ मा सुरु गरेको बेनी–मल्लाज–शालीजा सडक आयोजना मार्फत पर्वत बेनी देखि मल्लाज सम्मको चार किलोमिटर दुरीको सडक स्तरवृद्धी गरिएको थियो ।

तिन करोड ७७ लाख रुपैयामा ठेक्का सम्झौता गरेको बिएन थोडुङ कन्ट्रक्सन जेभीले सडक फराकीलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण, ग्याबियन पर्खाल र पक्की पर्खाल बनाउने र आरसीसि ढलान गरेको छ । निर्वाचित सांसदले आफ्नो क्षेत्रमा पाँच करोड रुपैया सम्मको एउटा आयोजना सञ्चालनका लागि सिफारीस गर्न पाउने व्यवस्था अनुसार तत्कालीन पर्वत क्षेत्र न. १ का सांसद अर्जुनप्रसाद जोशीले उक्त आयोजनालाई सिफारीस गर्नुभएको थियो । बेनी मल्लाज सडकबाट मल्लाज क्षेत्रमा उत्पादित तरकारी, दूध, आलु, सुन्तला लगायत कृषि उपज बजार पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत सहज हुने जलजला ३ का वडा सदस्य शशी आचार्यले बताए ।

सन्तोष गौतम