म्याग्दीमा आएको बाढीले निम्त्याएको जोखिम न्युनिकरण गर्न पहल ( भिडियो सहित)
- २८ भाद्र २०७५, बिहीबार
- 2866 पटक पढिएको
बेनी, २८ भदौ । बुधवार साँझ रघुगंगा र कालिगण्डकी नदीमा आएको बाढीले निम्त्याएको बिपद व्यवस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले पहल थालेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकले नदी कटानबाट उच्च जोखिममा परेको बेनी र गलेश्वर बजारमा थप क्षती हुन नदिन तत्काल संरक्षणको काम सुरु गर्ने निर्णय गरेका छन् ।
बेनी नगरपालिकाको संयोजनमा उद्योग बाणिज्य संघ, सुरक्षा निकाय र समुदायको सहभागीतामा पक्की पर्खाल बगाएको ठाउँमा ग्याविन भर्न सुरु गर्ने निर्णय भएको प्रअिज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रघुगंगा–३ गलेश्वर बस्ती तर्फको कटान रोकथामको लागि समेत सुरक्षा निकाय, गाउँपालिकासंगको समन्वयमा ग्याविन जाली भर्न थालिएको छ । ‘‘ बेनी संरक्षण आयोजनाले निर्माण गरेको पक्की पर्खाल नदी कटानले बगाएको छ, यसलाई तत्काल बस्तीतर्फ थप कटान नहोस भनेर ग्याविन भर्ने र दिर्घकालिन समाधानको लागि माथिल्लो निकायमा पहल गर्छौ’’–बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले भन्नुभयोे ।
बैठकले रघुगंगा गाउँपालिका–८ को रितुङ माविमा बाढीले पु¥याएको क्षतीले पठनपाठन नै प्रभावित भएकाले आबश्यक पूर्वाधार निर्माणमा सहयोगको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा पत्राचार गर्ने निर्णय गरेको छ । यता रघुगंगा र कालिगण्डकी नदीको कटानले पु¥याएको क्षतीबारे गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले प्रदेश गृहमन्त्री हरिबहादुर चुमानसंग भेट गरि जानकारी गराउँदै तत्काल बजार र बस्ती संरक्षणको साथै बाढीबाट पिडित भएकाहरुलाई उचित राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि एक दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क क्षेत्रमा भएको नदी कटानबाट पिडित भएकाहरुलाई राहत र जोखिमको अबस्था बुझ्न गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, वडा अध्यक्ष गमान छन्त्याल लगायतको टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बाढीले बेनी र गलेश्वर बजारलाई उच्च जोखिममा पारेको छ भने घ्यासीखर्कमा विद्यालय भवन, स्वास्थ्य चौकी भवन र बस्तीमा क्षती पु¥याएको छ ।