मल्लाजमा जलजला गाउँपालीकाको कार्यालय उद्घाटन

  • १४ चैत्र २०७३, सोमबार
  • 2682 पटक पढिएको

सन्तोष गौतम
बेनी १४ चैत । पर्वतको मल्लाजमा सोमबार जलजला गाउँपालीकाको कार्यालय उद्घाटन भएको छ । पर्वतका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पौडेलले गाउँपालीकाको कार्यालय उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी पौडेलले सबै एकजुट भएर स्थानीय तह कार्यान्वयन गरी त्यसबाट फाईदा लिन र निर्वाचनको वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालीकाकी कार्यकारी अधिकृत सिता अर्याल लगायत स्थानीय राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । गाउँपालीकाको कार्यान्वयन र केन्द्र स्थापना भएकोमा मल्लाजका बासिन्दाले बाजागाजा सहित ¥याली निकाल्नुका साथै खुसीयाली मनाएका स्थानीय रवीन जिसीले जानकारी दिनुभयो ।

गाउँपालीका स्थापना भएपछि सिंहदरबार र जिल्लाको अधिकार, सेवा र सुबिधा गाउँमा आएको भन्दै स्थानीय बासिन्दा उत्साहीत भएका छन् । स्थानीय तह पुनसंरचनाका लागि गठन भएको आयोगले जलजला गाउँपालीकाको केन्द्र साविक माझफाँट गाविसको कार्यालयलाई कायम गरेको थियो ।

शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौका बासिन्दाहरुले मल्लाजमा केन्द्र कायम गर्दा अपायक पर्ने भएकाले मिलनचोक क्षेत्रमा स्थापना गर्न दवाव दिदै आन्दोलन गरिरहेका छन् । उनीहरुले मिलनचोक क्षेत्रमै पर्ने माझफाँटको मोहनचोकमा गाउँपालीकाको सम्र्पक कार्यालय समेत स्थापना गरेका छन् ।

जलजला गाउँपालीकामा पर्वतको उत्तरी क्षेत्रमा पर्ने साबिकको बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, बनौ, धाईरीङ र नाग्लीवाङ गाविसलाई समेटिएको छ ।