विद्यालय सुधार योजनामा शैक्षिक एजेण्डाहरुलाई समावेश गर्न सुझाब

  • १२ चैत्र २०७३, शनिबार
  • 4063 पटक पढिएको

म्याग्दी, १२ चैत । सामुदायीक विद्यालयहरुले हरेक बर्ष निर्माण तथा अध्याबधिक गर्ने विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार संगै समसामयिक शैक्षिक एजेण्डाहरुलाई समेत समावेश गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा अपांग संघ म्याग्दीले शनिवार देखि बेनीमा सुरु गरेको विद्यालय सुधार योजना निर्माण र अध्यावधिक बिषयक दुई दिने तालिमको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।


बक्ताहरुले विद्यालय योजनामा अपांगता भएका बालबालिकाहरुको शिक्षामा सहज र समान पहुँच अभिवृद्धि संगै अपांगमैत्री पूर्वाधारका योजनाहरुलाई समेत प्राथमिकता दिन सुझाब दिएका थिए । अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालय सुधार योजना निर्माण गर्नु हरेक विद्यालयको लागि अनिवार्य रहेपनि त्यसमा अझैपनि समयसापेक्ष शैक्षिक एजेण्डाहरु समाहित हुन नसकेको बताउनुभयो ।


उहाँले विद्यालय सुधार योजना निर्माण र अध्यावधिक संगै त्यसको प्रभावकारी कार्यान्वयनलाई बढाउनुपर्ने आबश्यकता रहेकोमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा विभागका उप–निर्देशक तथा तालिमका प्रमुख प्रशिक्षक डाक्टर बाबुराम ढुंगानाले विद्यालयको समग्र विकासको निम्ती तयार गरिने विद्यालय सुधार योजनामा नेपाल सरकारले ल्याएका निती,नियम र शैक्षिक योजनाहरु संगै भूकम्प लगायतको विपत व्यवस्थापनलाई समेत समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।


त्यस्तै अर्का प्रशिक्षक तथा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति डेकबहादुर बानियाँले तालिमले समय सापेक्ष रुपमा विद्यालय सुधार योजना निर्माण र अध्यावधिकलाई प्रभावकारी बनाउन रचनात्मक सहयोग पुग्ने धारणा राख्नुभयो  । तालिममा जिल्लाका विभिन्न २५ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी र प्रधानध्यापक गरि करिब ५० जनाको सहभागिता रहेको छ । अपांग संघ म्याग्दीका कार्यकारी निर्देशक केपी अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत राम पौडेलले गर्नुभएको थियो  ।